स्वास्थ्य

स्वास्थ्य शिविरमा बिरामीको मृत्यु

सप्तरी । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गए रातिदेखि नै उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको आज बिहान पिसाब गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । मृतकका श्रीमती धनेश्वरी मोचीका अनुसार मृतक गङ्गा मुटु, पायल्स र टिबी रोगबाट ग्रसित थिए ।

घटनाप्रति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिवार मर्माहत भएको भन्दै आज प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । अस्पतालले जनाएअनुसार शिविरमा हालसम्म आठ हजार ९५४ बिरामीले ओपिडीबाट स्वास्थ्य सेवा लिएको र १८२ ले शल्यक्रिया गर्ने भएका छन् । शिविरमा छाती, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञ साथै सर्जन डाक्टरद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघरसम्बन्धी शल्यक्रिया गरिँदै छ ।

मोबाइल अस्पतालसहित आएका १२६ विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाट धेरै सङ्ख्यामा बिरामी सेवा लिइरहेका छन् । राजविराजमा गत फागुन १ गते एक समारोहका बीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।