समाचार

प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च स्थानमा हुन्छन्- अध्यक्ष डा. लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च स्थानमा हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याएकमा छन् ।

उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा जारीे विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले देश र जनतालाई समृद्ध बनाउन प्रजातान्त्रिक मूल्य र मान्यताको शासन प्रणाली शुरुआत भएको आजको दिनको विशेष महत्व रहेको बताएका छन्। विज्ञप्तिमा कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता विशेषताको सम्वद्र्धन गरी जनताका अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

सोही पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि प्रजातन्त्र दिवसका अवसरमा जनताका हकहित, अधिकारका प्राप्तिका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै प्रजातान्त्रिक व्यवस्थामा सरकारले आम नागरिकलाई मानव अधिकार, सामाजिक न्याय, सुरक्षा र सुशासनको प्रत्याभूति गराउनुपर्नेमा उनको जोड थियो ।  विसं २००७ फागुन ७ गते मुलुकमा १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्रको शुरुआत भएको थियो ।