प्रदेश 2

धर्मशाला निर्माणका लागि तीन करोड चन्दा सङ्कलन

लहान । लहान नगरपालिका–१५ ढोढनास्थित शक्तिपीठ राजदेवी पञ्चावती भगवती मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि करीब रु तीन करोडभन्दा बढी मूल्य बराबरको जग्गा तथा चन्दा सङ्कलन भएको छ ।

धर्मशाला निर्माणार्थ मन्दिरमा हालै सम्पन्न भएको श्रीमद्भागवत् महापुराण तथा महायज्ञका क्रममा विभिन्न श्रद्धालुबाट धर्मशाला निर्माणका लागि जग्गा तथा नगद आर्थिक सङ्कलन भएको हो । गत माघ २६ गतेबाट शुरु भएको श्रीमद्भागवत महापुराण तथा महायज्ञमा सहभागी हुन आउनुभएका श्रद्धालुले मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि बहुमूल्य जग्गा तथा नगद दान गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

लहान नगरपालिका–१ का वडाध्यक्ष फागु चौधरीले धर्मशाला निर्माणका लागि करीब रु ३० लाख मूल्य बराबरको १० धुर जग्गा प्रदान गरेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिए । यस्तै लहानका व्यवसायी हरिकिशन शारडाले धर्मशाला निर्माणका लागि रु एक लाख एक हजार १११ दान गरेका हुन् । यस्तै अन्य श्रद्धालुबाट समेत नगद दान प्राप्त भएको अध्यक्ष चौधरीले बताए ।

महापुराण तथा महायज्ञमा पण्डित श्रीनिवासा आचार्यले कथावाचन गरेका थिए । धर्मशाला निर्माणका लागि रु एक लाखभन्दा बढी चन्दा सहयोग गर्ने दातालाई मन्दिरको तस्वीरसहितको सुनको पदक प्रदान गरिएको थियो । भागवत महापुरण तथा महायज्ञमा सिरहा, सप्तरी, धनुषासहित देशका विभिन्न स्थान तथा छिमेकी देश भारतका करीब पाँच लाखभन्दा बढी भक्तजन सहभागी भएको आयोजकले अनुमान गरेको छ ।

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि करीब ६ किलोमिटर उत्तर चुरे क्षेत्र नजिकै रहेको देवीथान मन्दिरको रूपमा परिचित राजदेवी पञ्चावती भगवती मन्दिर पछिल्लो समय जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुन थालेको छ । मन्दिरमा जेठ महीनाको पूर्णिमाका दिन बाख्रा र परेवाको बलि प्रदान गर्ने गरिन्छ । सो दिन मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने प्रत्येक दिन पूजा गर्न श्रद्धालु आउने गरेका छन् ।