सुदूरपश्चिम

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

धनगढी । संयुक्त राज्य अमेरिकाको पश्चिम भर्जिनियाको फेयरमण्ट निवासी प्रा.डा. तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई रु ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । यो सहयोगसँंगै श्री राष्ट्रिय माध्यामिक विद्यालयको नाम परिवर्तन भई ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ हुने विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले जानकारी दिए । विद्यालयको आग्रहमा नगर शिक्षा समितिको सिफारिशमा धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले विद्यालयको नाम परिवर्तनका लागि निर्णय गरेपछि यो प्रकृयाले अन्तिम रुप लिएको हो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा यही फागुन ९ गते जोशीप्रति सम्मान दर्शाउँदै नाम थप्न लागिएको हो । विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सवको अवसरमा दाता जोशीको नागरिक अभिनन्दन गर्ने भएको छ । नागरिक अभिनन्दनका क्रममा जोशीलाई धनगढी ट्राफिक चौराहादेखि विद्यालयसम्म रथयात्रा गराउने कार्यक्रम तय गरिएको छ । विद्यालयको नाम परिवर्तनका लागि दाताले ७० लाख रुपैयाँ दिनुपर्ने कानूनी प्रावधान छ । बझाङको व्यासी गाउँ पञ्चायत ९हाल छविस पाथिभेरा गाउँपालिका० को तामाखानीमा ८१ वर्षअघि जन्मनुभएका तुलसीराम भानुभक्त जोशी र महालक्ष्मी जोशीका जेठो छोरो छन् ।

प्राथमिक विद्यालयको तह गाउँमै पूरा गरेका उनले मावि तहको पढाइ चैनपुरको सत्यवादी पाठशालामा पूरा गरे । त्यसपछि काठमाडौँ पढ्दा पढ्दै छात्रवृत्ति पाएर ५४ वर्षअघि अमेरिका पुगेका उनले त्यहीबाट विद्यावारिधि गरे । भूगोलमा त्रिचन्द्र कलेजबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका जोशीले हवाई युनिभर्सिटीबाट कृषि र भूगोलमा एमए गरेका थिए । त्यसपछि उनले पिट्सबर्ग युनिभर्सिटीबाट अर्वान एण्ड इकोनोमिक्स स्टडिजमा विद्यावारिधि गरे । पढाईसँंगै उनले फेयरमण्ट स्टेट युनिभर्सिटीमा भूगोल विभागमा सन् १९७२ देखि प्राध्यापन गरेका थिए ।

उनले अमेरिकामा रहेर पनि सुदूरपश्चिमको शिक्षा क्षेत्रको उन्नयनका लागि लामो समयदेखि सहयोग गर्दैआउनु भएको छ । विगत ३० वर्षदेखि बझाङका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका जोशीले यो अवधिमा १५ जनाभन्दा बढीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरेका छन् । त्यस्तै, उनले नेपालका ४० जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाएर अमेरिकामा पढ्ने व्यवस्था मिलाइदिएका छन् । उनले बझाङका विद्यालयहरुमा समेत अक्षयकोष स्थापना गरेका छन् । शान्ति मावि चौघान पाटालाई बुबा भानुभक्त जोशीका नाममा र बान्नीचौर उच्च माविलाई आमा महालक्ष्मी जोशीका नाममा अक्षयकोष स्थापनार्थ उनले रु १२/१२ लाख प्रदान गरेका छन् । त्यस्तै, सत्यवादी उच्च माविमा ठूलो बुबा देवीभक्त जोशीका नाममा अक्षयकोष स्थापना गर्ने योजना उनको योजना छ ।