उर्जा

परियोजना बन्द हुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य

दुल्लु । दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको छ । रु ५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्रिएपछि विद्युत् उत्पादन बन्द भएको हो ।

विसं २०६६ मा ऊर्जा मन्त्रालयको २२ लाख, जिल्ला सौर्य ऊर्जाको २४ लाख र तत्कालीन विसाला गाउँविकास समितिको पाँच लाख गरी कूल रु ५१ लाखको लागतमा उक्त परियोजना सञ्चालनमा ल्याइएको परियोजना सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर शाहीले बताए ।

परियोजना बन्द हुँदा स्थानीय २०९ घरधुरी अध्यारोमा बस्न बाध्य छन् । ‘आर्थिक अभावले उपकरण खरीद गर्न सकिएन,’ परियोजनाका अध्यक्ष शाहीले भने,“समितिको कोषमा रकम नभएकाले गाउँपालिकामा सहयोगका लागि अनुरोध गरेका छौ ।” काठको पोल पटक÷पटक ढल्ने भएकाले परियोजनामा समस्या उत्पन्न हुँदै आएको अध्यक्ष शाहीको भनाई छ ।

ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गैरागाउँ लद्यु जलविद्युत् आयोजना निर्माणका लागि रु ८ लाख विनियोजन गरेको बताए, “गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर रकम विनियोजन भइसकेको छ,” अध्यक्ष शाहीले भने, “अब केही महीनाभित्र जलविद्युत् परियोजना मर्मत गरी सञ्चालनमा ल्याउँछौ,’ त्यसपछि यहाँका नागरिक अध्यारोमा बस्नुपर्दैन् ।”