समाचार

दीपक शिवा बचाऊ अभियानमा रकम जुट्दै

फिक्कल । मिर्गौला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा रकम जुट्ने क्रम जारी छ । देउमाई नगरपालिका मङ्गलबारेस्थित त्रिवेणी युथ क्लबले सञ्चालन गरेको अभियानमा देश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो ।
क्लबका सदस्य तथा देउमाई नगरपालिका–४ मङ्गलबारे बजार निवासी शिवाको दुबै मिर्गौलाले काम गर्न छोडेपछि उनी अहिले काठमाडौँस्थित क्रिष्ट अस्पतालमा उपचाररत छन् ।

शिवाको उपचारका लागि रकम अभाव भएकाले क्लबले रकम जुटाउन दुई महीना अघिदेखि शुरु गरेको अभियानमा हालसम्म तीन लाख ८४ हजार सात सय पाँच रुपैयाँ सङ्कलन भइसकेको छ । दक्षिण कोरियाकास्थित इलामेली समाजका केदार निरौला र छुङछुङ नेपाली समाजका लोकेन भट्टराईले रु दुई लाख १२ हजार ९००जम्मा गरेका छन्। उक्त क्लबले देश तथा विदेशमा रहनुभएका अन्य सहयोगीबाट रु थप एक लाख ७१ हजार ८०५ सङ्कलन गरेको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

उहाँले रकम जुट्ने क्रम जारी रहेको बताउँदै यस अभियानलाई अझ प्रचार गर्न सके बढी रकम जुट्ने अपेक्षा गरे । विसं २०४३ मा जन्मिनु भएका शिवा कुशल खेलाडी तथा मङ्गलबारे बजारका युवा व्यवसायी छन् । उनले तीन महीना अघिदेखि उपचार गर्न थालेका थिए ।