समाचार

विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई अस्वीकार्य

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् ।

“विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन”–उनले भने । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीको थियो । विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो ।

मितिः २०७५।११।०६
प्रेस विज्ञप्ती

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिले विधानत २ बर्ष ५महिनाको समयावधी पुरा गरी विदा भएको छ । यस अवधिमा महाधिवेशनबाट आएको समितिले १२ औं महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण गर्ने न्यूनतम दायित्व पुरा गर्न ने।वि।संघ मुल नेतृत्व र मातृ पार्टीबाटै सहयोग र सहजीकरण भन्दा बढी गुटबन्दी र निषेधका औजारहरु पटक पटक चलीरहदा हामीले गरेका अनेकन प्रयासहरु समेत सफल हुन सकेनन् । हाम्रा प्रयासहरुलाई गुण र दोषको आधारमा इतिहासले समिक्षा गर्ने नै छ । हाम्रो कार्याकाल भरी ने।वि।संघको गौरवमय इतिहासको शाख र जुझारुपन जोगाउन हामीले उठाएका राजनितीक, शैक्षिक र सामाजिक आन्दोनलका विभिन्न मुद्दा एवं आन्तरिक लोकतन्त्रका सवालहरुमा साथ सहयोग गर्नुहुने सम्पूर्ण नेता सहकर्मी एवं शुभचिन्तकहरुमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौं ।

बदलिएको परिस्थीतीमा ने।वि।संघको स्वर्णिम इतिहास जिवन्त राख्ने थप चुनौती हाम्रा सामु आएको छ । फेरी पनि महाधिवेशनको विकल्प छैन, यथाशिघ्र १२ औं महाधिवेशनको निम्ति मातृ पार्टी नेपाली काँग्रेस र ने।वि।संघको विधानको व्यवस्था र राजनितीक मर्म अनुरुप तत्काल तदर्थ समितिको गठन गरी संगठनलाई निकास दिनु आजको टड्कारो आवश्यकता बनेको छ । परिवर्तीत सन्दर्भमा नेविसंघको मुलमर्म र भावना विपरित विधानलाई आफु अनुकुल व्यख्या गर्न मिल्दैन भन्ने हाम्रो ठहर छ । पार्टी केन्द्रीय समितिको बैंठकमा शिर्ष नेताहरुको बिच असहमति रहदारहदै पनि ने।वि।संघमा ३२ बर्षे उमेरहद लगाई सकेपछि त्यसको कार्यान्वयन अव हाम्रो पहिलो शर्त हो । स्ववियू निर्वाचनमा २८ बर्षे उमेर हद र करिब २१ जिल्लामा ३२ बर्षे हदवन्दी अनुरुप जिल्ला अधिवेशन सम्पन्न भै सकेको परिप्रेक्षमा ३२ बर्षे उमेरहदबाट पछि फर्कने चेष्ठा कसैले गर्छ भने त्यो केवल जालझेल र कुनै व्यक्ति विशेषलाई निषेध गर्ने र पात्र विशेष लाई पुरस्कृत गर्ने षड्यन्त्र बाहेक अरु केही हुन सक्दैन र त्यस्तो कदमले समग्र विद्यार्थी आन्दोलनको समेत अपमान गर्दछ ।
अर्को तर्फ, तदर्थ समितिको निर्माणका क्रममा संगठनमा क्रियाशिल सम्पूर्ण साथीहरुको भावना र मर्मको प्रतिनिधित्व सुनिश्चित हुनुपर्दछ । त्यसका लागी निवर्तमान केन्द्रीय समिति भित्र रहेको शक्ति संरचनाको आधार प्रतिविम्बीत हुनुपर्दछ । शक्ति बाँडफाँड निर्वाचनको विकल्प हैन तर निर्वाचनले स्थापित गरेको शक्ति प्रतिनिधित्वको निर्विकल्प आधार भने हो । हामी जहाँ–जहाँबाट विद्यार्थीको प्रतिनिधित्व गरेर आएका थियौं, त्यसको प्रतिविम्व तदर्थ समितिमा नहुदां संगठनमा समग्र एकता निर्माण नभई फेरी पनि महाधिवेशन संकटमा पर्न जाने हुदाँ ने।वि।संघको संरचनामा पार्टी संरचनाको गुटको हिसाब किताब गर्न खोजे त्यसको विरुद्ध जस्तोसुकै उपाय अपनाउन वाध्य हुनेछौं ।
तसर्थ, नेविसंघ सामु रहेको कम्यूनिष्ट सर्वसत्तावादको प्रतिरोध गर्ने, आसन्न स्ववियू निर्वाचन र महाधिवेशन सम्पन्न गर्ने दायित्व केवल तदर्थ समितिको मात्र हैन, यो त सम्पूर्ण पार्टी पंक्तीको नै अग्नीपरिक्षा बन्न जानेछ । एकतावद्ध र जुझारु नेविसंघका लागी ने।वि।संघ भित्रको सम्पुर्ण एकता प्रतिविम्वन हुने गरी विधानको मर्म अनुरुप ३२ बर्ष उमेर हदवन्दी सहितको तदर्थ समिति गठन गरी ६ महिना भित्र १२ औं महाधिवेशन सुनिश्चित गर्ने वातावरण निर्माणका लागी हामी पार्टी नेतृत्व, विद्यार्थी साथीहरु र सम्पूर्ण सरोकारवालाहरु संग जोडदार अपिल गर्दछौं ।
नि।केन्द्रीय समिति एवं १२ औं महाधिवेशन पक्षधर साथीहरुको तर्फबाट
कुन्दन राज काफ्ले
निवर्तमान महामन्त्री