गण्डकी प्रदेश

मध्यपहाडी र मालढुङ्गा–बेनी सडक बन्द हुँदा सास्ती

पर्वत । जिल्लाका दुई मुख्य सडक बन्द हुँदा धौलागिरि क्षेत्रका नागरिकलाई सास्ती भएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग र मालढुङ्गा–बेनी सडक दैनिक साढे छ घण्टा बन्द हुँदा नागरिकलाई सास्ती भएको हो । लोकमार्गको पर्वत खण्ड गत बुधबारदेखि लागू हुनेगरी दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको हो । सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा दैनिक साढे छ घण्टा बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा बसेको बैठकले बिहान १० बजेदेखि दिउँसो १४ः३० बजेसम्म र अपराह्न १६ः३० बजेदेखि १८ः३० बजेसम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भिर, कुश्मा नगरपालिका वडा नं ८ स्थित चुवाको भिर र कुश्मा नगरपालिका वडा नं २ स्थित अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । लोकमार्ग बन्द भएसँगै नागरिकलाई सास्ती हुन थालेको छ ।

पहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ । “महभिर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो”, आयोजना प्रमुख आशिष थापामगरले भने। बैठकमा सरोकारवालाले सडक निर्माण कार्य प्रभावित नहुने र यात्रुलाई समेत सास्ती नहुने गरी निर्माण अगाडि बढाउन सुझाव दिएका छन् । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले आयोजनाको काम तोकिएकै समयमा सक्नुपर्ने तर नागरिकलाई समेत मर्का नपरी काम गर्न आग्रह गरे । “नागरिकलाई दुःख नहुने गरी सकेसम्म वैकल्पिक सडक बनाएर काम गर्नुपर्छ”, उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले सडक बिस्तारको काम समयमा सक्ने वातावरण बनाउन आग्रह गरे । त्यस्तै महभिरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्ले मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ । पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका परियोजना प्रवन्धक गोविन्दप्रसाद भुसालले जानकारी दिए । “हामीले असारसम्ममा ८० प्रतिशत कामसक्ने लक्ष्यसहित काम गरिरहेका छौँ”, उनले भने ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँस्वरुपमा बिस्तार र स्तरोन्नति गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।