सुदूरपश्चिम

सिँचाइ कुलो निर्माण हुँदा स्थानीय खुशी

बाजुरा । जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोटका स्थानीयवासी गाउँमै सिँचाइ कुलो निर्माणपछि खुशी भएका छन् । कोटपातल खोलाबाट गाउँमा सिँचाई कुलोे निर्माण गरिएको हो । सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज भएपछि स्थानीय खुशी भएका छन् ।

सिँचाइ कुलो नहुँदा हिउँदेखेती लगाउन नपाई पुरै जमीन बाझो राख्नुपर्ने समस्या थियो, सिँचाइ कुलो निर्माणसँगै समस्या हटेको ४ नम्बरका वडा अध्यक्ष वीरेन्द्र रोकायाले बताएका छन् । पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने, मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हट्ने रोकायाको भनाइ छ । सिँचाइ कुलो ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । वर्षौदेखि स्थानीय निकाय, सरकारी तथा गैरसरकारी निकायलाई माग गर्दा पनि बेवास्ता गरिएको थियो, गाउँपालिकासँग जलस्रोत परियोजनाले सिँचाइ कुलो निर्माण गर्दा स्थानीय खुशी छन् ।

सिँचाइ निर्माणपछि अहिले आफूहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफूल साग तरकारीसमेत लगाउने गरेको बताएका छन् । गाउँमा सिँचाइ कुलो आएपछि पूरै मानाकोट गाउँ हरीयाली भएको स्थानीयवासीको भनाइ छ । ग्रामीण जलस्रोत परियोजनाको आयोजना र युरोपेली युनियन फिल्याण्ड सरकार र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा कोटपातल बृहत् सिँचाइ कुलो निर्माण गरेको गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय टङ्कनाथ खनालले बर्ताए ।

सिँचाइ कुलो रु ७४ लाख ५२ हजारको लागतमा निर्माण गरिएको हो । स्थानीयले पनि केही रकम श्रमदान गरेका छन् । १२ सय मिटर लम्बाइ र दुई फिट चौडाइ, दुई फिट उचाइको नहर निर्माण गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला संयोजक नरवीर ऐडीले जानकारी दिए । सिँचाइ कुलोबाट ४ नम्बर वडाका १२ सय बढी परिवारलाई सिँचाइका लागि सहज हुनेभएको छ । मानाकोटवासीले पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको छ । खेती उत्पादनमा पनि वृद्धि हुने स्थानीयले विश्वास राखेका छन् ।