आर्थिक

न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ- मन्त्री यादव

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटौँ अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए । “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उनले भने ।

न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । “न्यूरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्छ”, उनले भने । मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । “व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको छ”, उनले भने । फुटपाथ मुक्त शहर निर्माण गर्न महानगरपालिका लागेको उनको भनाइ थियो । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । “दैनिक व्यापार घाटा रु तीन अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्छ”, उनले भने । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योगी व्यवसायीको मर्कालाई बुझ्न नसकेको आरोप लगाए । “भन्सारमा देखिएको समस्या, घरवहाल कर, बैंकको चर्को ब्याजदर लगायतका समस्या समाधानका लागि सरकार लाग्नुपर्छ”, उनले भने ।

आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । कर छल्ने जोकोही उद्योगी व्यवसायीलाई कारवाही गरिने उनको भनाइ थियो । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए । सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । विसं २०६३ मा स्थापना भएको सङ्घले साना व्यवसायीको हकहितमा काम गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरिएको थियो ।