प्रदेश 1

यायोक्खाको १०औँ राष्ट्रिय महाधिवेशन

काठमाडौँ । किरात राई यायोक्खाको १० औँ राष्ट्रिय महाधिवेशन फागुन १८ देखि २० गतेसम्म धरानमा हुँदैछ । ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नं किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने मुख्य नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको सो संस्थाले जनाएको छ ।

यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले यहाँ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनले प्रदेशको नाम किरात प्रदेश राख्न प्रदेश सभालाई दबाब दिने बताए । यायोक्खाका केन्द्रीय महासचिव जीवन राईले किरात कुनै एउटा जाति मात्र नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति पनि भएकाले प्रदेशको नाम ‘किरात प्रदेश’ नै राख्नुपर्ने प्रस्ताव गर्दै आएको बताए ।

फागुन १५ गते झापाको काँकडभिट्टा, धरानको सुनसरीदेखि मोटरसाइकल ¥यालीमार्फत प्रदेशसभाको कार्यालय विराटनगर पुगेर किरात प्रदेश राख्न दबाब दिने कार्यक्रम रहेको यायोक्खा अध्यक्ष राईले बताए ।

राष्ट्रिय महाधिवेशनमा नेपालको २४ जिल्ला समिति, आठ भातृ सङ्गठन, २८ भाषिक सङ्गठन, विश्वका विभिन्न १७ मुलुकमा छरिएर रहेका एक हजारभन्दा बढी प्रतिनिधि उपस्थित हुने बताइएको छ । किरात राई समुदाय ५९ आदिवासी जनजातिमध्ये पाँचौँँ ठूलो जनसङ्ख्या भएको जाति हो ।