कर्णाली प्रदेश

सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

जाजरकोट । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र हो खलङ्गा रिम्ना सडकखण्ड ।

आठ वर्ष अघि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोपार्जन कार्यक्रम (ड्रिल्पी )अन्तर्गत निर्माण भएको उक्त सडक अहिलेसम्म राम्रोसँग स्तरोन्नति नहुँदा जिर्ण र जोखिमपूर्ण बन्दै गएको स्थानीय सरोकारवालाहरु बताउछन् । सडकमा परेका खाल्डाखुल्डी साँघुरो क्षेत्र र गुणस्तरहीन सडक संरचनाका कारण यो सडकको यात्रा सधै कष्टपूर्ण र जोखिमपूर्ण हुने गरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । बिहीबार गाडीमा यात्रा गर्ने यात्रुहरु धेरै सङ्ख्यामा नभएका कारण ठूलो मानवीय क्षति हुन पाएन । १३ जना सवार उक्त गाडीमा चार जनाको ज्यान गयो भने नौ जना घाइते भए । जाजरकोटका लागि अघिल्ला सडक दुर्घटनाको तुलनामा यो दुर्घटना सानो भए पनि सरोकारवालाहरुले सधै भइरहने सडक दुर्घटनाको कारण खोज्नुपर्ने स्थानीयवासी गगनबहादुर खड्काले बताए ।

जाजरकोट सदरमुकाम खलङ्गा आसपासको सडकको अवस्था निकै जोखिमपूर्ण भए पनि सरोकारवालाहरुले कुनै चासो र ध्यान नदिएका कारण सडक यात्रा कष्टपूर्ण र जोखिमपूर्ण बनेको उनले बताए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले पनि बिहीबार साँझ रिम्नाको सडकबाट भेरीमा बस खस्नुका प्रमुख कारण अप्ठेरो सडक र तिव्र गति भएको बताए । जाजरकोट–डोल्पा सडकअन्तरर्गत खलङ्गादेखि रिम्नासम्मको सडकखण्डको अवस्था निकै दयनीय भएको र जोखिमपूर्ण अवस्था भए पनि सडकको स्तरोन्नति गर्न स्थानीय जनता र सञ्चारकर्मीहरुले सडक डिभिजन कार्यालय चौरजहारी, स्थानीय तथा केन्द्रीय जनप्रतिनिधिहरु र अन्य सरोकारवाला निकायहरुमा बारम्बार विभिन्न माध्यमबाट ताकेता गरे पनि कुनै सुनुवाइ नभएको पीडितहरु बताउँछन् ।

आठ वर्ष अघि निर्माण गरिएको उक्त सडक वर्षातमा सधै बन्द हुने गरेको छ भने अन्य बेला पनि सडकको खाल्डाखुल्डी, साँघुरो मोड र बिग्रेको अवस्थाका कारण जोखिमपूर्ण तरिकाले गाडीहरु गुड्ने गरेको स्थानीयवासीको गुनासो छ । साना गाडी नै गतिलोसँग गुड्न मिल्ने अवस्था छैन झन ठूला बसलाई गुड्न के सजिलो हुन्छ र स्थानीय यातायात व्यवसायी प्रेमबहादुर रानाले बताए । “वर्षात्का बेला हिलो र खाल्डोमा गाडी फसेको बेला डोरी र ट्याक्टरले तान्नुपर्छ भने आजभोलि पनि निकै डराएर गाडीहरु चलाउनुपर्छ”, उनले भने , “यो सडक कहिले पनि सुध्रिने जस्तो देखिदैन, कोही सुधार्ने निकाय पनि देखिदैनन् ।”

जाजरकोट–डोल्पा सडकको खलङ्गा रिम्नाखण्डको मात्र होइन खलङ्गा पाँच काटिया सडकको अवस्था पनि रिम्नाभन्दा कम छैन । सडक निर्माण भएको नौ वर्षसम्म बस चलाउन नसकिएको उक्त सडकमा पनि पानी परेको बेला गाडी गुडाउन मिल्दैन । सडक निर्माण गर्दा निकै गुणस्तरहीन काम हुनु र सडक स्तारोन्नति गर्नेतर्फ स्थानीय सरकार, केन्द्र सरकार र अन्य सरोकारवालाहरुले ध्यान नदिएका कारण खलङ्गा पाँचकाटिया सडक पनि जीर्ण र जोखिमपूर्ण रहेको कुसे ५ का डिल्लीबहादुर थापाले बताए ।

सडक बनेको यत्रो वर्ष भयो न बस गुड्छ न सडकको स्तरोन्नति गर्न कोही कसिन्छन् थापाको गुनासो छ । गतिलो सडक नबनाउनु र बनेको सडक पनि कामै नलाग्ने जस्तो हुनु जनतामाथिको हाकाहाकी ठगी भएको उनले बताए । यस्तै सदरमुकाम खलङ्गा बजार प्रवेश गर्ने नाकाको रुपमा रहेको मटेला पुलदेखि बोहोरा गाउँसम्मको सडकको अवस्था पनि जीर्ण छ । बोहोराको उकालो लाग्ने पासागाड खोलाको छेउमा कालोपत्रे सडकमा ठूलो खाल्डो परेको दुई वर्ष बिते पनि कुनै सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए ।

दुई वर्षसम्म उक्त सडकमा कति नेता हिडे कति कर्मचारी हिडे तर कसैले बिग्रेको सडक बनाउनेतर्फ ध्यान दिएनन श्रेष्ठको गुनासो छ । कालोपत्रे भत्किएर खाल्डो परेको पासागाड छेउको सडकमा परेको तालमा मोटरसाइकल डुब्ने गरेको र अन्य गाडीलाई पनि अप्ठेरो हुने गरेको उनले बताए । जाजरकोटबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफूले सांसदमा निर्वाचित भएको एक वर्षभित्र खलङगा– रिम्ना, खलङ्गा –पाँचकटिया र छेडाचौरदेखि थलह बजारसम्मको सडक कालोपत्रे गर्ने बाचा निर्वाचनका वेला गरेको थियो ।

मन्त्री बस्नेतको बाचाअनुसार कालोपत्रे हुने त के बिग्रेको सडकको गतिलो मर्मतसमेत नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको स्थानीयको आरोप छ । यता मन्त्री बस्नेतको बाचाअनुसार सडक विभागले ती सडकहरुमा कालोपत्रे गर्नका लागि टेन्डर आव्हानको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । यस अघि २०७१ मङ्सिर ४ गते ५४ जना र २०७३ फागुन २६ गते २९ जनाको ज्यान जाने गरी भएका ठूला बस दुर्घटनाहरुका कारण गाडी दुर्घटनाको खबर सुन्ने बित्तिकै जाजरकोटवासीहरु निकै डराउने गर्छन् । खलङ्गा रिम्ना सडकमा मात्र रु २१ करोड रकम खर्च भएको छ ।