गण्डकी प्रदेश

प्याराग्लाइडिङको सफल परीक्षण

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास ९होमस्टे०ले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् । परीक्षण उडानपछि विपीन परियारले लुम्राङ र देउरालीडाँडा प्याराग्लाइडिङ उडान गर्नका लागि र रानीपानीमा रहेको इमिचौर अवतरण गर्नका लागि उत्तम स्थान रहेको बताए ।

आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गर्न सकेमा व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने चालक रमेश नेपालीले बताए। प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले बताए । सफल उडानअघि धावनमार्ग र अवतरणस्थलका बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो ।