खेलकुद

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा झापा विजयी

रुपन्देही । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१औँ संस्करण आजदेखि बुटवलमा शुरु भएको छ । देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले विजयी शुरुआत गरेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले गोल अन्तरले हराउँदै पहिलो खेलमा झापाले जित हात पारेको हो ।

झापाकोतर्फबाट समूह कर्ण लिम्बूले पहिलो हाफको ११औँ मिनेटमा एक गोल गरे भने दोस्रो हाफको पाँच मिनेटमा बुद्धबल तामाङले दोस्रो गोल गरेका थिए । प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।

प्रतियोगीताअन्तर्गत आइतबारको खेलका लाली रुपन्देही ११ र सुनसरी ११ का बीचमा हुनेछ ।
प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब, झापा ११, सुनसरी ११, लाली रुपन्देही ११, च्यासल युथ क्लब, सङ्कटा क्लब, मनाङ–मस्याङ्र्दी क्लब, ब्रदर्श युनाइटेड क्लब भारत र दाफिन्स एफ सि क्यामरुन गरी १० समूहले भाग लिएको रुपन्देही फुटबल सङ्घका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।

यसपटकको विजेताले रु आठ लाख ८८ हजार नगदसहित कप पाउनेछ भने उपविजेताले रु पाँच लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउने छन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रिले रु २५÷२५ हजार नगद प्राप्त गर्नेछन् ।