आर्थिक

बैंकको ब्याजदर घटाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन निर्देशनात्मक रुपमा आग्रह गरेका हुन् ।

उनले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिए । “लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्”, उनले भने, “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् । ”

बिलासिताका वस्तुमा लगानी कम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनरलाई समेत निर्देशन दिए ।

“बैंकहरूले एउटा शर्तमा ऋण दिने र आफूखुशी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ”, प्रधानमन्त्री ओलीले भने । उनले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकार उद्योगी व्यवसायीका समस्या समाधान गर्न सधैँ सकारात्मक रहेको बताए ।

महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थाले घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनर भएको थियो ।