विचार/ब्लग

ओलीले कम्युनिष्ट गफाडीमात्र हुन् भन्ने पुष्टी गर्दैछन्

काठमाण्डौ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्रीमा सपथ खाएको एक बर्ष पुगेको छ । प्रधानमन्त्री ओलीले पहिलो पटक सपथ लिँदा देशका दुरदराजमा रहेका तुईन मुक्त गर्ने अभियान त्यसबेला नै तुहिएको भएपनि दोस्रो पटक प्रधानमन्त्री हुँदा बिबादमात्र झेल्ने काम बाहेक केहीपनि गर्न सकेनन् ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा एमालेलाई ठूलो पार्टी बनाउने महत्वपूर्ण काम गर्दै तत्कालीन माओबादी केन्द्रलाई एबीकरण गरेर एउटै बनाउने प्रयास अनितम चरणमा पुर्याउन सफल देखिएपनि प्रधानमन्त्री ओलीलाई एकीकृत पार्टीमा दुईजना अध्यक्ष रहेको आरोप भने राजनीतिक बृतमा लाग्ने गरेको नै छ । एकीकृत पार्टी नेकपामा प्रधानमन्त्री ओली आफैं र माओबादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दहाल दुईजना नै अध्यक्ष छन्, माथील्लो तहमा अप्राकृतिक एकीकृत भएपनि बिद्यार्थी संगठन, युवा संगठन, प्रदेश कमिटीदेखी तल्लो तहमा कार्यकर्ताहरुलाई एकीकरण गर्न प्रधानमन्त्री पुरै असफल देखिएका छन् ।

पर्टीमा असफल देखिएभन्ने कुरा उनीहरुको आन्तरिक भएपनि सरकारका कामकारबाही पनि पछिल्लो दुईतिहाई मतको सरकार भन्न समेत लाजमर्दो देखिएको छ । ओली सरकारले शक्ती संचय गर्दै आफ्ना नाताका मान्छे, पार्टीका आसेपासे, चाकरीबाजलाई नियुक्ती गर्ने, जागीर खुवाउनेबाहेक राम्रा देश र जनताका लागि देखिने काम गर्न सकेको छैन ।

देखाउने काम गर्ने त कुरै छाडिदिउँ दुइतिहाई मतको नेकपा नेतृत्वको सरकार निर्मला पन्तको बलात्कार र हत्या गर्ने अन्तर्राष्ट्रिय अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसकेर ३ करोड नेपाली जनताका बीच झण्डै पुरा कार्यकाल नै बिबादमा रह्यो । बुढी गण्डकी जलबिद्युत आयोजना चाईनिज कम्पनीलाई बिना टेण्डर अरबौंको मिलेमतोमा ठेक्का दिने, संबैधानिक नियुक्तीमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको सहमतीबिना गर्ने, वाईडबडी घोटालामा संलग्नलाई बचाउन समिति गठन गर्ने, टेलिकमको फोरजीमा १२ अर्बको भ्रष्टाचार भएको बिबाद आउने, रेल–हावाबाट बिजुली लगायतका ठूला कुरा गर्ने काम भने सिन्को नभाँच्ने, एनसेल करको कर बिबाद लगायतका दर्जनौ बिबादमा ओली सरकार फस्यो । नेकपाको सरकार हुनु र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन मुख्य भुमिका खेल्ने हिसाबले सरकारले गरेका राम्रा र नराम्रा कामको जिम्मेवारी पुष्पकमल दहाल लगायत जिम्मेवार नेताहरुले लिनै पर्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनले ६० प्रतिशत भन्दा बढी नेपालीलाई कम्युनिष्टका मतदाता बनाउन सफल भएपनि पार्टीहरु फुटेर धेरै भएका कारण मतदाताहरु बिभाजित हुने र बिभाजित मतदाताका कारण प्रजातन्त्रको हिमायती ठान्ने नेपाली काँग्रेसले फाईदा लिने राजनीति नेपालमा ०४६ सालपछि चलिरहेको हो । उक्त राजनीति चलेपनि माले र एमाले बिचमा मिलेका थिए भने पछिल्लो समयमा एमाले र माओबादी केन्द्रको पनि मिलन भएको हो । मिलनको अन्तिम चरण नसिद्धिएपनि दुई पार्टीहरु मिलेर प्रधानमन्त्री ओली दुईतिहाई मतकाका धनी बनेका छन् ।

निर्मला पन्त लगायतमा सरकारका गल्तीहरु हेर्दै पर्ख र हेरको अवस्थामा रहेर आँसिक आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस देखिएको छ । यावत अवस्थाहरुकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै नेपालमा बेरोजगारी भत्ता दिने, नेपालमा रेल कार्यलय उद्घाटन गर्ने जस्ता महत्वाकाँक्षी र पुग्नै नसक्ने योजनाहरु भीडभाडका साथ उद्घाटन गरेका छन् ।

अध्यक्ष दहालसंग भेनेजुएला काण्डबाट बिबाद बढेपनि पार्टी एकीकरण छिट्टै गर्ने बताउन नछाडेका प्रधानमन्त्री ओलीले एक बर्ष पुग्दा आफू आलोचनाको शिकार हुने कुरालाई टेडमेढ गर्ने हेतुले फाल्गुण १, २ र ३ मा बिभिन्न महत्याकाँक्षी योजनासहितका प्रोपोगाण्डा गरेका हुनसक्ेने देखिएको छ । पुग्नै नसक्ने कुरा गरेपनि नेपालीहरुले मत दिएर ठूलो पार्टी बनाएको नेकपालाई मतदानपछि अध्यक्षद्वयले मतदाताको मन जित्न नसकेर उनीहरुको माईण्डलाई बिभिन्न उखानटुक्का भनेर, प्रोपोगाण्डे कार्यक्रमहरु गरेर दिमाग भुट्न भने छाडेका छैनन् । फागुण १ गते जनयुद्ध दिबश नेकपाका पुर्व एमालेले मनाएनन् भने पुर्ब माओबादीमा डा. बाबुराम भट्टराईबाहेकका नेताहरुले छुट्टै मनाए । नेकपाका बरिष्ठ नेता माधबकुमार नेपालले त जनयुद्ध दिवश पार्टीले स्वीकार गर्न नसक्ने समेत सार्बजनिक कार्यक्रममा नै बताए ।
ओली सरकारको तुईनबाट शुरुभएको जनतालाई ढाँट्ने गफ पछिल्लो समयमा रेल उद्घाटन र बेरोजगारी भत्ता बाँढ्नेमा अडिएको छ । नेपाली जनता अहिल्यै नै प्रधानमन्त्री ओलीले ल्याएका एक बर्षका कार्यक्रमको प्रभाबलाई मूल्याँकन नगर्लान् । प्रधानमन्त्री ओलीले काम कती पुरा गर्छन् त्यसपछि नै उनको र नेकपाको बाटो अगाडि बढ्ला । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकारका उद्घाटन महत्वाकाँक्षी र पुरा हुन नसक्ने हावादारी कुरा गरेको प्रतिकृया दिएपनि सरकार आफ्नो बाटो हिँड्न छाडेको छैन । पहिलो कार्यकालमा भारतले गरेको नाकाबन्दीको बिरोध गरेर जनताका पक्षमा केही लोकप्रीय भएपनि पछिल्लो कार्यकालमा ओली सरकारसँग गफ नै दिएर जनतालाई प्रभाब पार्ने बिकल्प नभएर बिभिन्न कार्यक्रमका प्रापोगाण्डा गर्न ब्यस्त देखिन्छ । ओली सरकार कुनैपनि काममा सफल हुन नसक्नुले कम्युनिष्टहरु गफमात्र गर्छन् केहीपनि काम गर्दैनन् भन्ने जनताले बुझ्न थालेका छन् । दुईतिहाई मतको शक्ती सम्पन्न सरकारले जनताको मन जित्नेगरी गर्नेमात्र होईन सिन्कोपनि भाँच्न नसकेमा कम्युनिष्टहरु काम शून्य गर्ने गफाडी हुन भन्ने पुष्टी समेत हुने देखिन्छ ।