आर्थिक

सरकारले किसानको पक्षमा काम गरिरहेको छः मन्त्री यादव

काठमाडौँ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले किसान, उपभोक्ता र उद्योगी सबैको हितमा सरकारले काम गरिरहेको बताएका छन् ।

सङ्घीय संसद्, राष्ट्रियसभाको आजको वैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा मन्त्री यादवले उपभोक्ताको हितमा पारित भएका कानूनको कार्यान्वयनमा सरकारले जोड दिएका बारेमा सदनलाई जानकारी दिए । उनले विगतमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न सकिने अवस्था नरहेको र अहिले बजारमा सरकार छ भन्ने अनुभूति जनतालाई गराइरहेको स्पष्ट पारे । उनले निरन्तर बजार अनुगमन भइरहेको उल्लेख गरे ।

मन्त्री यादवले भने, “सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ, प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेका छौँ ।” उनले सरकार आफैँले सबै उद्योग चलाउने पक्षमा नरहेको प्रस्ट पार्दै उखु किसानको पक्षमा अझै पनि धेरै काम गर्नुपर्ने र किसानको समस्या सुल्झाउन प्रयासरत भएको बताए । बैठकमा सांसदहरुले उखुको मूल्य नतोकिँदा किसान मर्कामा परेको र खरीद गरेका उद्योगले भुक्तानी नदिँदा किसान अप्ठेरोमा परेकाले मन्त्रीको जवाफ मागेका थिए ।