समाचार

सरकारले वन क्षेत्रलाई समृद्धिको आधार बनाउन कार्यक्रम अघि बढाएको छः मन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै हुने गरी व्यवस्थापनका उपाय अवलम्बन गरिएको बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको १९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले वन उत्पादनशील क्षेत्र भएकाले संरक्षण र उपयोग एक साथ अघि बढाउने उद्देश्यका साथ नयाँ वन नीति ल्याएको जानकारी दिए ।

वन पैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउन मन्त्रालयले निजी क्षेत्र र वनमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीति अपनाएको उल्लेख गर्दै मन्त्री बस्नेतले वन क्षेत्रलाई समृद्धिको एक आधार बनाउन विविध कार्यक्रम अघि बढाएको बताए । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अपनाएको स्पष्ट पार्दै उनले वन क्षेत्रको संरक्षण र उपयोगका सम्बन्धमा सरकार निजी क्षेत्र र समुदायसँगै मिलेर काम गर्ने बताए । मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको जनाइरहेका बेला स्वदेशी काठको कमी र चर्को मूल्यका कारण गत आर्थिक वर्षमा मात्र मुलुकमा रु पाँच अर्ब ७५ करोड मूल्यको काठ विभिन्न मुलुकबाट आयात भएको महासङ्घको तथ्याङ्क छ ।

महासङ्घले वनमा रहेका ढलापडा, सुख्खड खडा, वृद्धि रोकिएका बुढा रुख सदुपयोग नगरेका कारण लाखौँ क्युफिट काठ आगोले डढी र सडिगली जानाले राज्यको अर्बौ राजश्व नष्ट भएको जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले वन क्षेत्रमा देखिएका कानूनसम्बन्धी चुनौतीको समाधान गर्न आफूहरु नयाँ कानून निर्माण र व्यवधान खडा भएका कानून संशोधन गर्ने प्रक्रियामा अघि बढेको बताउए ।

सङ्घीय सांसद पार्वत गुरुङले महासङ्घलाई काठमा मात्र आधारित उद्योगलाई अन्य वन पैदावारको उद्यममा विविधीकरण गर्न सुझाव दिँदै पेशाको मर्यादा जोगाउन व्यवसायी स्वयंले आचारसंहिता पालना गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले वन क्षेत्रको काठमा मात्र आधारित उद्योगलाई समयानुसार उत्पादनमा विविधीकरण गर्न नयाँ प्रविधिको प्रयोग आवश्यक रहेकामा जोड दिए । वन सचिव डा. विश्वनाथ ओलीले मन्त्रालयले काठको आयात निरुत्साहित गर्न लक्ष्यअनुसार मुलुकभित्रको काठको उत्पादन बढाएको उल्लेख गर्दै उत्पादन बढेसँगै खपत पनि बढाउनुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकाल, निवर्तमान अध्यक्ष कपिलप्रसाद अधिकारी र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले वन पैदावार उद्योग क्षेत्रमा देखिएका चुनौतीका बारेमा अवगत गराउँदै समाधान उपाय सुझाएका थिए । कार्यक्रममा वन व्यवस्थापन तथा उद्यम प्रवद्र्धन राष्ट्रिय पुरस्कारबाट सहसचिव ढुङ्गानालाई र वन पैदावार उद्यम प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट कारोबार दैनिकका प्रगति ढकाललाई सम्मानीत गरिएको थियो ।