समाचार

महायज्ञमा दुई करोड सङ्कलन

कावासोती । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा रु दुई करोड बढी रकम सङ्कलन भएको छ ।

नौ दिनसम्म चलेको महायज्ञमा रु एक करोड ३५ लाख ६५ हजार बराबर नगद सङ्कलन भएको छ । करीब रु ७० लाख बराबरको भूमिदान प्राप्त भएको आर्थिक समिति संयोजक यमबहादुर थापाले जानकारी दिए । ग्रामीण क्षेत्रका विद्यार्थीले आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न सकून भन्ने उद्देश्यले विद्यालयले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको थियो ।

ग्रामीण क्षेत्रका विपन्न समुदायका विद्यार्थी खर्च अभावका कारण प्राविधिक शिक्षा पढ्नबाट वञ्चित हुनु नपरोस् र अन्य विद्यार्थी पनि अन्यत्र धाउन नपरोस् भनेर महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक होमनाथ सुवेदीले बताए ।

विद्यालयमा कावासोती नगरपालिकासहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयमा ६६४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिए ।