लुम्बिनी

निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण

राँझा । बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले उद्यान निर्माण गरेको हो ।

रु ६० लाख लगानीमा अहिले चौराहमा उद्यान निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक उद्यानको रुपमा विस्तार गरिएको हो । चौराहमा फूलबारीसहितको सुन्दरपार्क, बीचमा सालिक, सालिकमा बाघको मूर्ति राखिएको छ । सालिक वरिपरि पानीको फोहोरा छ । राति उद्यानलाई टाढाबाट देख्न सकिने गरी विद्युतीय उज्यालोको व्यवस्था गरिएको छ ।

सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले माघ महीनाभित्रै उद्यानको उद्घाटन गर्ने योजना भए पनि केही काम बाँकी रहेकाले केही हप्ता सरेको बताए । “९५ प्रतिशत काम सम्पन्न भइसकेको छ, केही दिनमै सबै काम सम्पन्न हुनेछ”, न्यौपानेले भने, “यो उद्यानले अब कोहलपुरलाई चिनाउने छ, कोहलपुरवासीको घुम्ने ठाउँ बनेको छ ।” नगरपालिका प्रमुख लुटबहादुर रावतले उद्यान निर्माणको सबै काम सम्पन्न भएपछि कोहलपुर चौराह रातको समयमा पनि थप सुन्दर देखिने बताए । उनले निजी क्षेत्रबाट यो उदाहरणीय कार्य भएको बताए ।

उद्यानभित्र रहेको पानी फोहोरा शुरु भएपछि अहिले कोहलपुरका सर्वसाधारण उद्यानमा रमाइलो गर्ने गरेका छन् । “सिद्धार्थ ग्रुपले बनाए पनि यो हामी सबै कोहलपुरवासीको सम्पत्ति हो”, नगरप्रमुख रावतले भने, “पार्कको संरक्षण, संवद्र्धन र सुरक्षामा सबै लाग्न जरुरी छ ।” कर्णाली प्रदेशका विभिन्न जिल्ला जान सवारीसाधनको प्रतीक्षा गर्ने यात्रुसमेत उद्यानमा रमाउने गरेका छन् । उद्यानमा दक्षिणतर्फ बाँकेको सदरमुकाम नेपालगञ्ज, उत्तरतर्फ कर्णाली प्रदेशको राजधानी सुर्खेत, पश्चिमतर्फ धनगढी–महेन्द्रनगर र पूर्वतर्फ दाङ–बुटवल पुग्ने सर्वसाधारण बसको प्रतीक्षा गर्दै रमाउने गरेको स्थानीय यातायात व्यवसायी उमेश गुरागाईंले बताए ।