आर्थिक

ब्यावशायी गाडी चढेको देख्दैमा आफू धुरी चढ्नुहुन्न, देखासिकीमा भन्दा खोजीको व्यवसाय गर्नुस्ः डा भट्टराई

चिप्लेढुङ्गा । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताएका छन् ।

पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा बिहीबर आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री डा. भट्टराईले उद्यमशीलताविना कुनै पनि देशको विकास हुन नसक्ने बताए । नेपाल जस्तो लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिरहेको मुलुकमा अहिलेको स्थायी सरकारले काम गर्नसक्ने आधार भएको भन्दै उनले विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिए ।

बहुमतको सरकारले यो अवसरको सदुपयोग गरेर राष्ट्रियहितका लागि विकासलाई तीब्रता दिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र र राज्यबीचको सम्बन्धविपरीत ध्रुवको जस्तो भयो भने त्यसले मुलुकको अर्थतन्त्रलाई असर पार्ने भन्दै पूर्वप्रधानमन्त्री भट्टाराईले दुवैबीच आपसी साझेदारी र समझदारीबाट नीति बनाएर अघि बढ्नुपर्ने बताए । “अहिले देशको राष्ट्रिय एजेण्डा नै विकास र समृद्धि भएकाले विकास नीति के ? छिमेकको स्थिति के ? कुन रणनीति लिएर विश्वस्तरमा जाँदा सफल हुन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ,” उनले भने । डा भट्टराईले अरुले गाडी चढेको देख्नै बित्तिकै देखासििकमा ब्यावशाय गर्दा पछि डुब्ने सम्भावना भएकाले गाडी चढ्दा धुरी चढ्नुभन्दा ब्यावशाय गर्दा बिचार पुर्याएर गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा चेम्बरका अध्यक्ष किसान सुनारले व्यवसायी लगानी गर्न उत्सुक रहेको तर लगानीमैत्री वातावरणको अभाव र बजारको पहिचानमा पनि समस्या देखिएकाले विज्ञको सुझाव आवश्यक रहेको बताए । कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष यामनाथ पौडेलले राज्यको निजी क्षेत्रप्रतिको नीति स्पष्ट नभएसम्म व्यवसायी लगानीका लागि अग्रसर हुन नसकेको बताए ।