लुम्बिनी

गर्मीका कपडा बनाउन तयारी पोशाक उद्योगलाई चटारो

बाँके । विगतका वर्षहरुमा शीतलहरले आक्रान्त बनाउने बाँके र बर्दियामा यस वर्ष शीतलहरको प्रभाव परेन । एकदुई दिन हुस्सु लागे पनि दिनभर घाम लागेपछि पुसमाघमा पनि बाँकेबासीले चिसोको सामना गर्नुपरेन । माघ अन्तिम तीन दिन लगातार झरी परेपछि केही चिसो महसुस गरे बाँकेबासीले । फागुन लागेसँगै बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेको छ । फागुन महीनाको शुरुआतमै गर्मीको अनुभव हुन थालेपछि यस वर्ष यहाँको तामक्रम उच्च हुने आकलन भइरहेको छ ।

बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेसँगै नेपालगञ्जका कपडा व्यवसायीहरुले जाडोका लागि बिक्रीमा राखिएको कपडा थन्काउन थालेका छ । कपडा व्यवसायीहरुले आफ्ना पसलमा गर्मीका कपडाहरु झुण्ड्याउन थालेका छन् भने नेपालगञ्जका तयारी पोशाक उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो छ । यतिबेला यहाँका तयारी पोशाक उद्योगका कामदार टिर्सट, हाफपाइन्ट, पाइन्टलगायतका गर्मीमा लगाउने कपडा बनाउन रातदिन व्यस्त छन् ।

“तयारी पोशाक उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ” कमल गार्मेन्ट उद्योगका सञ्चालक टङ्कसिंह धामीले भने, “अहिले उत्पादन शुरु ग¥यौँ भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ ।” कमल गार्मेन्ट उद्योगमा कार्यरत कामदारहरु टिर्सट, हाफपाइन्ट, पाइन्ट लगायतका गर्मीमा लगाउने कपडा सिलाउन व्यस्त छन् । नेपालगञ्जमा दुई दर्जन बढी तयारी पोशाक उद्योग सञ्चालनमा छन् ।

सीमित उद्योगहरु ठूलो लगानीसहित सञ्चालनमा छन् भने अन्य उद्योग सानो लगानीका छन् । यी उद्योगहरुले कच्चा पदार्थ बाहिरबाट ल्याएर यहाँ कपडा उत्पादन गर्ने गर्छन् । नेपालगञ्जमा तयारी पोशाक उद्योगको ठूलो बजार भएकाले यहाँ उत्पादन भएका कपडाहरु ५ नम्बर प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ । न्यू लुम्बिनी गार्मेन्ट उद्योगका सञ्चालक कश्मीरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो । मौसमअनुसारका कपडा उत्पादन हुने गरेको उनले बताए । “अहिले गर्मीयामको कपडा उत्पादन गर्न शुरु गरिसकेका छौँ”, कश्मीराले भन्नुभयो, “हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौँ ।”