अन्तर्राष्ट्रिय

तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च

लण्डन । बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन गर्ने गरेको पाइएको उल्लेख छ ।

अक्सफोर्ट विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले किशोर किशोरीहरुमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ देखाएका छन् । अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीहरुको संख्या अमेरिकामा झण्डै ४ लाख रहेको छ भने बेलायतमा ६० हजार र क्यानडामा २५ हजार रहेको छ ।

यस अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताहरुले झण्डै १५ बर्षदेखिको ११ ओटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुको समेत विश्लेषण गरेको जनाएका छन् । उनीहरुले अध्ययनका क्रममा २३ हजार ३१७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।