गण्डकी प्रदेश

अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा

दमौली । तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल पाँच महीनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभावले पाँच महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । मन्त्रिपरिषद्ले ढोरफिर्दी स्वास्थ्य चौकीलाई फूलबारीमा समायोजन गरेर १५ शै्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेपनि अस्पताल बन्द अवस्थामा छ ।

अस्पताल र स्वास्थ्य चौकीको समायोजन गरी ढोर फूलबारी शहीद अस्पतालको नामबाट सञ्चालन गर्ने तयारी भएपनि जनशक्ति अभावमा अस्पताल बन्द अवस्थामा रहेको छ । सोही वडाको राइपुर निवासी भिमबहादुर थापाले पाँच महीनादेखि अस्पताल बन्द हुँदा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको गुनासो गरे । उनले भने, “अस्पताल र स्वास्थ्य चौकीको समायोजन गरी १५ शै्ययाको सुविधासम्पन्न अस्पताल बनाउने निर्णयले जनतामा उत्साह पैदा भएको थियो, तर अहिले अस्पताल नै बन्द भएपछि स्वास्थ्य सेवा लिन अन्यान्त्रै धाउनुपर्ने स्थिति आएको छ ।

उनले सरकारले छिटोभन्दा छिटो जनशक्ति उपलब्ध गराएर अस्पताल सञ्चालन गर्नुपर्ने बताए । जर्मनी स्वंयंसेवीहरुको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरे लगत्तै बन्द भएको थापाले बताए । उपचारका लागि आउने बिरामी अस्पतालको मूल ढोकामा लगाएको ताल्चा हेरेर अन्यान्त्रै धाउन बाध्य छन् । करौडौँ रुपैयाँ खर्चिएर बनाइएको अस्पतालको भवन, यन्त्र उपकरण र औषधी प्रयोगविहीन बनेको छ । १५ शै्ययाको अस्पतालमा २४ जनाको दरबन्दी आवश्यक हुन्छ । सङ्घीय सरकारले आवश्यक दरबन्दी उपलब्ध नगराउँदा अस्पतालको सेवा ठप्प भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।

सरकारले दरबन्दी नदिएपछि नगरले नै दरबन्दी सिर्जना गरेर अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, “नगरपालिकाले एक जना एमबिबिएस डाक्टर, स्टाफ नर्स र ल्याब टेक्निसियनको अस्थायी दरबन्दी स्वीकृत गरेर नगरस्तरीय अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । विसं २०५५ फागुनमा जर्मनी स्वंयंसेवीहरुको संस्था इभी कास्यलको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो । अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका थिए ।