समाचार

दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

खोटाङ । सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो ।

दैनिक हलेसी आवतजावत गर्ने अन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थी सवार सवारीसाधनको बाक्लो ओहोरदोहोर हुने सडकमा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले नगरपालिकासँगको सहकार्यमा सडकका जोखिमपूर्ण मोड छानेर ऐना राखेको जनाइएको छ । अष्ट्रेलियाली रेडक्रसको आर्थिक सहयोग, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिज ९आइएफआरसी० र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा जिल्लामा सञ्चालन भइरहेको समुदायमा आधारित विपत् जोखिम न्यूनीकरण (सिविडिआरआर) कार्यक्रमअन्तर्गत सडक ऐना राखिएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत अच्युत अधिकारीले बताए ।

नौ वर्षअघि ‘ओटासिल’ गरिएको जयराम–हलेसी सडकमा खाल्डाखुल्डी भएपछि यात्रा जोखिमपूर्ण बनेकाले न्यूनीकरण गर्न सडक ऐना जडान गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए। जयराम–हलेसी सडकको प्रहरी चौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्र उप्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक विसं २०६७ मा गरेको कालोपत्र छोटो समयमै उप्किएपछि सबैभन्दा बढी हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको छ । ठेकेदारको लापरवाहीका कारण कालोपत्र उप्किएपछि सवारीसाधन गुड्नै मुस्किल परेको च्यास्मिटार–३ का वडाध्यक्ष भलाराज राईले बताए ।

तीस किलोमिटर लामो उक्त सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा सवारीसाधन चलाउने चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारीसाधन चलाउन बाध्य छन् । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो । हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउने÷जाने सयौँ सवारीसाधनको ओहोरदोहोर हुन्छ । विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुको गुनासो छ ।