राजनीति

सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्नुपर्छ- सांसद

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गरेका छन् । उनले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका अधुरा योजना पूरा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद मुक्ताकुमारी यादवले सरकार गठन भएको एक वर्ष पूरा हुँदा शान्ति, सुरक्षा कायम गर्न नसकेको र विकासका पूर्वाधारमा ध्यान नदिएको आरोप लगाउँदै यस्तो पाराले समृद्ध नेपाल कसरी बन्छ रु भन्ने प्रश्न गरे । सांसद ठकेन्द्रप्रकाश पुरीले रुकुम पश्चिम जिल्ला अस्पतालमा चार चिकित्सकको दरबन्दी भए पनि एक चिकित्सकको भरमा चलेको बताउँदै अस्पताल प्रदेश सरकारले सञ्चालन गरे पनि सङ्घमार्फत त्यहाँ चिकित्सक पठाउन माग गरे ।

विसं २०४५ मा स्थापना भएको सो अस्पताल शुरुमा १५ श्ययाको थियो । हाल ३७ श्ययाको सो अस्पतालमा दैनिक ३०० बिरामीले स्वास्थ्यसेवा लिने गर्दछन् । सांसद अनिता देवकोटाले सरकारको एक वर्षको उपलब्धि शून्य रहेको आरोप लगाउँदै कस्तो भैँसी ब्यायो, दूध क–कसले खान पाए, सरकारले जवाफ दिनुप¥यो भने ।

सांसद विना पोखरेलले सामूहिक रूपमा सांसद आवासगृह र आवतजावत गर्न सवारीसाधनको व्यवस्था गर्न माग गरे । सांसद प्रकाश पन्तले गएको माघ महीना नेपाली खेलकूद क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको चर्चा गर्दै अपाङ्गता भएका व्यक्तिको उपचारमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद रामप्रित पासवानले सरकारको छात्रवृत्ति दलितमैत्री बन्न नसकेको आरोप लगाए । सांसद रमेशप्रसाद यादवले बारा जिल्लाको बसहा सिँचाइ आयोजना पूरा गर्न, सांसदका बीचमा विभेद नगर्न र प्राकृतिक संरक्षणमा ध्यान दिन वन मन्त्रालयको ध्यानाकर्षण गराए ।