गण्डकी प्रदेश

चिकित्सक आवास भवन निर्माण

गलकोट । धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरुका लागि चकित्सक आवास भवन निर्माण गरेको छ । रु एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए ।

एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले जानकारी दिए ।

अस्पतालमा चिकित्सक नबस्ने परिपाटी चलिरहेको अवस्थामा सुविधासम्पन्न आवास निर्माण भएसँगै सेवारत चिकित्सकहरु लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ ।