समाचार

देश बदल्न नसके ओली सरकारले कुर्चीमा बस्नुको कुनै औचित्य छैनः डा भट्टराई

दमौली । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताएका हुन् ।

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत बुधबार तनहुँ आइपुगेका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताएका हुन् । जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा उनले जोड दिए ।

“राम्रोसँग देश बदल्ने काम नगरेसम्म कुर्चीमा बस्नुको कुनै अर्थ छैन”, उनले भन, उनको संकेत बर्तमान दुईतिहाई मतको केपी शर्मा ओल नेतृत्वको सरकारतर्फ लक्षीत थियो । उनले खुद्रे योजनाभन्दा दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए । पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा भट्टराईले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन अभियान थालिएको बताए । यही फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा भट्टराईले बताए ।