आर्थिक

रुस्लान डिपिएलः धनगढी स्टार्स लगातार पराजित

धनगढी । धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)मा लगातार हार व्यहोरेको छ । आज विराटनगर किंग्ससँगको तेस्रो खेलमा २१ रनले पराजित भएको हो । हारसँगै धनगढीको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । धनगढी अङ्कविहीन रहँदै तालिकाको पुछारमा छ । अब धनगढी स्टार्सले दुई खेल खेल्न बाँकी छ ।

फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगर किंग्सले टस जितेर ब्याटिङ ग¥यो । उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाई १०३ रन बनायो । विराटनगरका लागि अभिनाश यादवले २७, करणले २१, आसिफ शेखले १२ तथा सम्साद शेख ११ रन बनाए । बलिङतर्फ धनगढीका कप्तान सोमपाल कामी र विपिन कार्कीले तीन–तीन तथा रोबिन क्षेत्रीले दुई विकेट लिए ।

एक सय चार रनको लक्ष्य पछ्याएको धनगढी स्टार्सले १९ ओभरमा सवै विकेट गुमाउँदै ८२ रन मात्र बनायो । सन्दीप रजालीले ३४ तथा राजु रिजालले १५ रन जोडे । अन्य आठ खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन् । धनगढीलाई सस्तैमा समेट्न विराटनगरका अभिनाशले चार ओभरमा १० रन खर्चिँदै चार विकेट लिए । कप्तान करण केसीले चार ओभरमा २४ रन दिई चार विकेट लिए । सुसन भारीले दुई विकेट लिए ।

धनगढी पहिलो खेलमा काठमाडौं र दोस्रोमा अत्तरियासंँग पराजित भएको थियो । विराटनगरको भने यो पहिलो जीत हो । विराटनगरले दुई खेलमा दुई अङ्क जोडेको छ । विराटनगर चौथो स्थानमा छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसंँग पाँच विकेटले पराजित भएको थियो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्सले आज भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई सात रनले हरायो । टस हारेर ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा पाँच विकेट गुमाई १३४ रन बनायो । अङ्कित दबासले अविजित ६५ रन, योगेन्द्रसिंह कार्कीले २२, ज्ञानेन्द्र मल्लले १४ तथा मेहबुब आलमले १३ रन जोडे । बलिङतर्फ महेन्द्रनगरमा अमरसिंह रौटेलाले दुई, मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले एक–एक विकेट लिए ।

एक सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगरले २० ओभरमा आठ विकेट गुमाई १२७ रन बनायो । अमरसिंह रौटेलाले अविजित २८ रन, शरदले २३, आरिफ शेखले १८, आनन्द सुब्रमन्युले १५ तथा रोहितकुमार पौडेलले १० रन बनाए । बलिङतर्फ काठमाडौँका राशिद खानले तीन र अङ्कित दवासले दुई विकेट लिए । काठमाडौँले दुई खेलबाट चार अङ्क जोडेको छ । महेन्द्रनगरलाई प्ले अफमा पुग्न बाँकी खेल जित्नै पर्ने दबाब छ । अङ्कविहीन महेन्द्रनगर पाँचौ स्थानमा छ ।