समाचार

आज बिहानभर अवरुद्ध बनेको बिपी राजमार्ग अहिले पुनः सुचारु

सिन्धुली । आज बिहानभर अवरुद्ध बनेको बिपी राजमार्ग अहिले पुनः सुचारु भएको छ । घाइतेको उपचार र दोषीलाई कारवाही गर्ने सहमतिपछि राजमार्ग सुचारु गरिएको हो । आज बिहान क्याम्पस पढन जाँदै गर्दा बा ३ च ६७५१ नं को पिकअप भ्यानले ठक्कर दिएपछि दुई छात्रा घाइते भएका थिए । सोही विषयलाई लिएर विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आएको थियो । घाइतेको उपचार र दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले राजमार्गसमेत अवरुद्ध पारेका थिए ।

प्रहरीले ठक्कर दिई फरार रहेको भ्यानलाई नियन्त्रणमा लिएपछि विद्यार्थीले सडक अवरुद्ध छाडेर प्रहरीसँगको त्रिपक्षीय छलफलमा गएका थिए । प्रहरी, राजनीतिक दल र विद्यार्थी प्रतिनिधिको छलफलमा प्रहरीले क्षतिपूर्ति दिलाउन पहल गर्ने, बिरामीको उपचार गर्ने, ट्राफिक नियमको पालना गराउने, माझिटारदेखि ढुङ्ग्रेबाससम्म क्याम्पस पढ्न जाँदा र पढेर फर्कंदा सुरक्षित यात्राको व्यवस्था गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको विद्यार्थी नेता उत्तम पहाडीले जानकारी दिए ।

ठक्करबाट राजमार्गमा पैदलयात्रागरी क्याम्पस जाँदै गरेकी गोलञ्जोर गाउँपालिका– ३ घर भएकी १७ वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका– ११ निवासी १८ वर्षीया मुनी थापा घाइते भएका थिए । घाइतेमध्ये मुनी थापाको अवस्था गम्भीर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रोजिनाको सिन्धुली अवस्थामा उपचार भइरहेको छ ।

छात्रालाई ठक्कर दिई फरार रहेको बोलेरोलाई प्रहरीले बिपी राजमार्ग हुँदै खुर्कोट तर्फ जाँदै गरेको अवस्थामा गढीबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । सवारी र चालकलाई नियन्त्रणमा लिइएकाले सवारी ऐनअनुसार कारवाही हुने प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।