पर्यटन/संस्कृति

धङ्गे नाचको संरक्षणमा जुटे युवा

रुकुम । छमछम बज्ने सितारा हाली बुनेको कालो मखमलको चोली, घुँडासम्म आउने मखमलकै शुरुवाल, टाउकोमा सेतो पगरी अनि रङ्गीचङ्गी धागोबाट बुनेका फूलका थुङ्गाजस्तै देखिने लहरा पगरीबाट कम्मरसम्म पुगेको हेर्दा जो कोहीलाई अनौठो लाग्छ ।

अनि त्यसैमा काठबाट बनेका डरलाग्दा विभिन्न आकृतिका मुकुण्डा अनुहारमा, काठबाट बनेका खुकुरी र तरबार कम्मर अनि हातमा, त्यसैमाथि पनि लठ्ठीलाई बङ्गाएर बाँदरको जस्तै जोडेको पुच्छर । यो दृश्यले सबैलाई चकित पार्छ । साना–साना बालबालिका र टाढाबाट आएका पाहुना झट्ट हेर्दा त तर्सिन्छन् पनि ।

यो सबै कसैलाई तर्साउन नभइ रुकुम ९पूर्व० को एक मौलिक नाच हो । जसलाई नचारु तथा धङ्गे नाच भनिन्छ । परम्परागत लोपोन्मुख नचारु तथा धङ्गे नाच समूह क्याङसीले आफ्नो गाउँको कला र संस्कृतिलाई जोगाइ राख्न गाउँगाउँमा गई यो नाच प्रस्तुत गर्ने गरेको छ । समूहले नाचेरै रु नौ लाख १५ हजार ४१५ सङ्कलन गरेको समूहका सदस्य पुनबहादुर रोकाले बताए । समूहले मङ्सिर २६ गतेबाट शुरु गरेको नाच एक महीनासम्म सञ्चालन गरेको थियो ।

भूमे गाउँपालिकाको कार्यालयबाट नाच शुरु गरेको उक्त नचारु तथा धङ्गे नाच समूहले भूमेको काँक्री, लुकुम, महत, सिमा, पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो सेरा, तकसेरा, बाछिगाउँ, कोल, राङ्सी, रोल्पाको थवाङ र दाङ जिल्लाका विभिन्न ठाउँमा नाच प्रदर्शन गरेको थियो । परम्परागत कला, संस्कृतिलाई बचाइ राख्ने र त्यही कला र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यो नाच गाउँगाउँमा गएर नाचेको समूहले जनाएको छ । मौलिक कला र संस्कृतिको जगर्ना गर्ने भन्दै वडापालिकाले पनि जनजाति संस्कृति तथा वेषभूषा संरक्षण क्याङ्सी शीर्षकमा बजेट छ्ट्याएको भूमे गाउँपालिका–३ का वडाध्यक्ष दिलमान रोकाले जानकारी दिए । वडापालिकाबाट छुट्याइएको रु एक लाख ९५ हजार रकमले नचारु नाचको पोशाक खरिद गरेको समूहले जनाएको छ ।

त्यसैगरी नाचेर सङ्कलन गरिएको रु नौ लाख ९५ हजार ४१५ मा रु चार लाख ८४ हजार ७१५ सामग्री खरीद र समूह व्यवस्थापनमा खर्च भएको समूहका सदस्य रोकाले बताए । उनका अनुसार अहिले चार लाख ३० हजार ७०० समूहको बचत रहेको छ । बचत रकमलाई संस्कृति जगेर्ना गर्ने कार्यमा लागानी गर्ने उनको भनाइ छ ।