कृषि

सूर्योदयमा फष्टाउँदो व्यावसायिक तरकारी खेती

पशुपतिनगर । भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि इलामको पूर्वी सीमावर्ती गाउँका किसानले व्यावसायिक तरकारी खेतीबाट आम्दानी राम्रो गर्न थालेका छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारी बारीसम्म आउन थालेपछि किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरेका हुन् । भारतको पर्यटकीय शहर दार्जिलिङमा तरकारीको माग बढ्दै गएपछि सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कल बरबोटे, अन्तु, समाल्बुङ क्षेत्रमा व्यावसायिक तरकारी खेती फष्टाएको हो ।

अहिले फिक्कल, पशुपतिनगर, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आएर तरकारी खरीद गरी दार्जिलिङ पु¥याउने गरेका हुन् । उनीहरूले इस्कुस, मूला, आलु, साग, काँक्रा, बिटलगायत तरकारी लोड गरी लैजान गरेका छन् । सूर्योदय नगरपालिका–९ गहिरिगाउँका किसान सागर पराजुलीका अनुसार अहिले भारतीय व्यापारीले तरकारी पशुपतिनगर नाका भएर दार्जिलिङ पु¥याउने गरेका छन् । “यहाँ उत्पादन हुने तरकारी झापाको चारआलिको सब्जीमण्डीमा जाने गरे पनि अहिले भारतीय व्यापारीले खरीद गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिको काम शुरु भएपछि तरकारी किन्न नेपाली व्यापारीसँगै भारतीय नम्बरका गाडी यतै आउन थालेका छन् ।”

भारतको फाटक, सुकिया, मिरिक र घुमदेखिका व्यापारी नेपाली किसानले उत्पादन गरेको तरकारी लिन आउन थालेको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो । इलामको पुरानो नाका मानेभञ्ज्याङबाट पहिलेदेखिनै पिठ्युँमा बोकेर र कहिले सवारी साधनमा तरकारी भारतीय बजारमा निर्यात भए पनि अहिले सूर्योदय नगरपालिका–९ स्थित बरबोटेमा तरकारी सङ्कलन केन्द्रनै खोलिएको छ ।

भारतीय बजारमा तरकारीको माग बढेपछि किसानले मूल्य पनि राम्रो पाएको व्यवसायी प्रकाश श्रेष्ठले बताउनुभयो । आम्दानी गर्न व्यापार गर्ने, जागिर खाने सपना धेरैले सजाउने गरे पनि तरकारी बेचेरै यी सपना पूरा गर्दैछन् पूर्वी इलामका किसान । सूर्योदय नगरपालिकाका किसान व्यावसायिक तरकारीमा आत्मनिर्भर बन्दै गएका हुन् । सूर्योदय नगरपालिकाको १४ वटै वडामा व्यावसयिक तरकारी खेती फष्टाउँदै गएको छ । केही वर्षअघिसम्म निर्वाहमुखी खेती गर्ने किसान गाउँमा यातायात सुविधा पुगेपछि व्यावसायिक बन्न थालेका हुन् ।

पाखो जमीनमा इस्कुस रोपेर भए पनि उनीहरू वर्षको लाखौँ रुपैयाँ आम्दानी गर्दैछन् । इस्कुसको जरा, फल र टुम्पा बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । पहिला स्थानीय बजारमा आफ्नो उत्पादन बेच्ने किसान झापाका बजारसम्म आफ्ना उत्पादन पु¥याउँदै थिए । किसानले अहिले बारीबाटै तरकारी बेचेर भारतीय आम्दानी लिँदै आएका छन् । भारतीय व्यापारीले इस्कुस प्रतिकिलो १०, काँक्रा प्रतिगोटा २०, अकबरे खोर्सानी प्रतिकिलो र इस्कुसको मुन्टा प्रतिमुठा रु १५ देखि ४० सम्ममा किनेर लैजाने गरेका छन् । सूर्योदय नगरपालिकाका किसान ८०० का किसान प्रेमसागर भट्टराई भन्नुहुन्छ, “अर्गानिक तरकारी उत्पादन गर्दा बिक्रीको समस्या छैन तर, अरू तरकारी पनि नबिकेर उब्रिएको चाहिँ छैन ।”

आफ्नो गाउँका धेरै युवा तरकारी खेतीकै लागी अहिले क्राँक्रा र इस्कुसको थाँक्रो लगाउन व्यस्त रहेको उहाँले बतानुभयो । युवा विदेशिने क्रम नरोकिए पनि गाउँमा भएका युवाले कृषि पेशामा जमेका छन् । कृषि व्यवसायमा फर्किएका व्यवसायीे तरकारी खेतीबाट आम्दानीले झापा शहरी क्षेत्रमा घडेरीसमेत जोडेका छन् । चियाखेती, पशुपालन, अलैँचीखेती पछाडि किसानको रोजाइ अहिले तरकारी खेती भएको हो । तरकारीको आम्दानीले आर्थिक अवस्था सुध्रिएपछि मकैखती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । सूर्योदय नगरपालिका–९ स्थित गहिरिगाउँ पहिले बीउ मकै उत्पादन गर्ने गाउँ भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पुगेपछि सबै किसानले मकैबारीलाई इस्कुस पकेट क्षेत्र बनाएका छन् ।

इस्कुस बेचेर वर्षको चार लाख, काँक्राले तीन लाख, खुर्सानीले साढे तीन लाख कमाउने किसान यहाँ धेरै सङ्ख्यामा छन् । यहाँका किसानले वैशाखदेखि असोजसम्म इस्कुस काँक्रा र अकबरे खुर्सानी बजारसम्म पु¥याउने गरेका छन् । अहिले किसानको बारीमा आलु रोपिएको छ । आलुबारीको छेउछेउमा इस्कुस र काँक्राको लागि माच लगाउने किसानले ‘असार–साउनमा एक पटकमा ५०० वटासम्म काँक्रा बिक्री गर्दै आएका छन् । “तरकारी खेतीमा मेहनत बढी भए पनि आम्दानी राम्रो छ, “किसान पुरुषोत्तम पराजुलीले भन्नुभयो, “अहिले सूर्योदय नगरपालिकाले अर्गानिक तरकारी खेतीमा प्रोत्साहन गरेकाले किसानले विषादीको प्रयोग गर्न छोडेका छन् ।