प्रदेश 1

वन अतिक्रमणमा वृद्धि

भोजपुर । भोजपुरमा वन अतिक्रमण गर्ने कार्यमा वृद्धि भएको छ । जिल्लाभर हालसम्म ६८ दशमलव ६८ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।

इलाका वन कार्यालय बोयाअन्तर्गत सबैभन्दा बढी ३७ दशमलव पाँच, वालङ्खाअन्तर्गत ७ दशमलव ३५, याकुमा ९ दशमलव १ हेक्टर र अन्य विभिन्न स्थान गरी कूल ६८ दशमलव ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको सो कार्यालयले जनाएको छ ।

यसरी अतिक्रमित वन सरकारीकरण गर्नका लागि विभिन्न वन उपभोक्ता समूहसँग छलफल भइरहेको कार्यालयले जनाएको छ । वन अतिक्रमण गर्नेलाई वन ऐनअनुसारका कारवाही गरिने पनि वन कार्यालयले जनाएको छ ।

वन ऐन २०४९ ले अतिक्रमण भएको जग्गा राष्ट्रियकरण गरी वन अतिक्रमण गर्नेलाई रु १० हजारसम्म जरिवना, एक वर्ष जेल वा दुवै सजाय हुने व्यावस्था गरेको कार्यालयले जनाएको छ । भोजपुर जिल्लामा ७७ हजार ३२३ हेक्टर वन क्षेत्र छ । जुन जिल्लाको कूल भू–भागको ५० दशमलव ७८ प्रतिशत हो ।