स्वास्थ्य

शिविरबाट साढे दुई सय लाभान्वित

गलेश्वर । म्याग्दीको नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा मङ्गलबार पुलाचौरमा सम्पन्न भएको निःशुल्क आँखा शिविरमा साढे दुई सय जना लाभान्वित भएका छन् ।

रेडक्रसको १६औँ स्थापना दिवसका अवसरमा पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे दुई सय लाभान्वित भएका हुन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २४० को आँखा परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको छ । तीमध्ये पाँच जनाको तुरुन्तै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको हुँदा उनीहरुलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा सिफारिश गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताए ।

उक्त शिविरमा भीरमुनी, पुलाचौर, चिप्लेटी, डडुवा र पुलाडाँडाबाट सर्वसाधारण सेवा लिन आएका थिए । बेनी नगरपालिकाको आर्थिक, रेडक्रस म्याग्दी शाखा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक तथा हिमालय आँखा अस्पताल पोखराको विशेष सहयोग र बेनपा–५ वडा कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको थियो ।