सुदूरपश्चिम

पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

डोटी । शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए ।

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताए।

पत्रकारलाई समाचार सङ्कलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको उनले जानकारी दिए। नगरपालिकाले गरेको उक्त निर्णयलाई स्थानीयवासीले स्वागतयोग्य काम भनेर खुशी व्यक्त गरेका छन् । नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ । अरु गाडीभन्दा उक्त नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ ।