बाग्मती

नख्खु–बुङ्गमती सडकमा काम २५ प्रतिशत

ललितपुर । ठेक्का सम्झौता शुरु भएको दुईवर्ष नाघिसक्दा नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्गमतीसम्म सडक २५ प्रतिशत मात्रै काम भएको छ । ठेक्का सम्झौताको म्याद आगामी साउनसम्म रहेको तर भौतिक प्रगति भने ज्यादै कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गर्न ढिलाइ गरेकाले कार्यान्वयनमा ढिलाइ भएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए। उनका अनुसार प्राधिकरणले चिन्ह लगाएर सडक खाली गराएपछि आयोजनाले ठेकेदारमार्फत विस्तारित सडकमा निर्माणको कामअघि बढाउँछ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनको तार र कतिपय स्थानमा रुखसमेत हटिनसकेको इञ्जिनीयर श्रेष्ठको भनाइ थियो ।

ठेकेदारलाई सहज गराउन सम्बन्धित स्थान खाली गर्नुपर्नेमा उनको जोड थियो । इञ्जिनीयर श्रेष्ठले भने, “त्यहाँ रहेका पोल र पाइप नहटाउँदासम्म ठेकेदारले काम नगरेको हामी भन्न सक्दैनौँ ।” पाँच किलोमिटर लामो सो सडक निर्माणको ठेक्का दुई ठेकेदार कम्पनीलाई दिइएको छ । विसं २०७३ असारदेखि सडक निर्माण गर्न थालिएको थियो ।

यो सडकजस्तै काठमाडौँ उपत्यकामा १२ वटा सडक निर्माणाधीन रहेकामा अधिकांशमा जग्गा र घरको मुआव्जा विवाद रहेको छ । यी सडकमा निर्माणाधीन सडकको ठेक्का सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति भने कम छ । कतिपय सडक निर्माणको काम सर्वोच्च अदालतको अन्तरिम आदेशका कारणले पनि ठप्प छ ।