कर्णाली प्रदेश

शहीद स्मृति पार्क ओझेलमा

जाजरकोट । जनयुद्धमा होमिएकोे तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आउने वित्तिकै ठूलो धनराशि खर्च गरेर यहाँको भेरी नगरपालिका– १ स्थित रिम्नामा शहीद स्मृति पार्क निर्माण गरिएको थियो । निर्माण भएको दुई वर्षसम्म त्यहाँ आन्तरिक पर्यटकको ओइरो लागेपनि अहिले भने सुनसान छ । उक्त पार्कमा प्रवेश गर्नेहरू आनन्दको अनुभूति लिन्थे । पार्क दिनभर खुलै रहन्थ्यो । पार्कभित्रको सजावटले आगन्तुक जो कोहीको मन लोभिन्थ्यो  पछिल्लो समय पार्कमा आगन्तुकको नाम निसाना देखिंँदैन । एक वर्षयता पार्क प्रवेश गर्नेको सङ्ख्या शून्य छ ।

जनयुद्धका शहीदको स्मरणमा निर्माण भएको उक्त पार्क अहिले ओझेलमा परेको छ । पार्कको स्तरोन्नति र अन्य व्यवस्थापपनमा ध्यान नदिँदा यसको अस्तित्व मेटिनाका साथै आगन्तुकको उपस्थिति पनि न्युन भएको हो । जनयुद्धमा थुप्रै व्यक्तिले साहदत प्राप्त गरेको गाउँ रिम्नामा सात वर्षअघि पार्क बनेको थियो । बलिदान शहीदको स्मृतिमा निर्माण भएको सुन्दर पार्क माओवादी विभाजनको शिकारमा परेपछि अहिलेसम्म सुधार हुनसकेको छैन् ।

अहिले विभाजित भएका माओवादीहरू कसैले पनि पार्कप्रति ध्यान नदिनु शहीदप्रति अन्याय भएको शहीद परिवारको भनाइ छ । पार्कमा रहेका मिनी चिडियाखाना, पोखरी, स्मृति भवन, शहीदका तस्वीर, बिरुवा तथा फूलको बगैँचालगायत त्यहाँको वातावरण अवलोकन गर्न आगन्तुक लोभिन्थे  तर हिजोआज पार्कको प्रवेशद्वार तथा स्मृति भवन व्यवस्थापनको अभावमा सुनसान देखिन्छ  ।

पार्कभित्र झाडी र फोहर बढ्दै गएको छ । त्यहाँ पालिएका जीवजन्तु तथा चराचुरुङ्गी मरिसकेका छन् । पोखरीमा पानी सुकेको छ । बिरुवा तथा फूल सुकेका छन् । शहीदको स्मरणका लागि पार्क पुगेका पीडितपरिवार पनि निराश भई फर्कने गरेको रिम्नाका कृष्णराज विकको भनाइ छ । द्वन्द्वमा पिपे र रिम्ना गाउँमा मात्र २९ जनाले ज्यान गुमाएका थिए । तीमध्ये विद्रोही पक्षबाट एक र राज्य पक्षबाट २६ मारिएका थिए । अझै दुई बेपत्ता छन् । द्वन्द्वमा जिल्लाभरका ३७६को ज्यान गएको थियो ।

जनयुद्धका दुईसय शहीदको तस्बिर राखिएको उक्त पार्कको व्यवस्थापन नहुनु राम्रो नभएको शहीद परिवार एक सदस्य डण्डवीर रानाले बताए  । रानाका छोरा लालबहादुर सशस्त्र द्वन्द्वका शहीद हुन् । शहीदपार्कमा बसेर मादक पदार्थ खाने र कपडा सुकाउने स्थानको रूपमा परिणत भएको उनको गुनासो छ । तत्कालीन सरकारले द्वन्द्वप्रभावित गाउँ पिपे र रिम्नालाई नमूना गाउँ घोषणा गरेको थियो । सरकारको नमूनाबस्ती विकास कार्यक्रमअन्तर्गत रिम्नामा रु एक करोड खर्च गरेर उक्त पार्क निर्माण गरिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर रानाले बताए  ।

विसं २०६८ मा निर्माण गरिएकोे उक्त पार्क व्यवस्थापनका लागि तीन वर्षसम्म लगातार बजेट आएको र त्यसपछि बजेट नआएको उहाँको भनाइ छ । शहीद पार्कलाई पर्यटकीयक्षेत्र बनाउन र यसको संरक्षण गर्नका लागि तत्काल सर्वपक्षीय बैठक बोलाउनुपर्नेमा भेरी नगरपालिका–१का वडाध्यक्ष दीपक राना जोड दिनुहुन्छ  । नगरपालिकालगायत निकायबाट पार्कको स्याहार सम्भारका लागि आगामी वर्ष आवश्यक बजेट व्यवस्थापन गरिने उहाँको भनाइ छ  ।

द्वन्द्वप्रभावित रिम्ना र पिपे गाउँमा छ वर्षअघि खानेपानी, लघु जलविद्युत्, शहीद पार्क तथा शहीद स्मृति भवन, सरसफाइ, विद्यालय भवन निर्माणलगायत योजनामा रू छ करोड खर्च भएको थियो । बजेट अभावमा उचित स्याहार सम्भार नहुँदा पार्कभित्र पालिएका जीवजन्तु र बोट बिरुवा तथा फूल मरिसकेको वडाध्यक्ष राना बताउनुहुन्छ । पार्कमा सहयोग गर्ने कर्मचारीको तलब व्यवस्थापन र पालिएका वन्यजन्तुको आहाराको खर्च जुटाउन नसक्दा पार्कको अस्तित्व सङ्कटमा परेको उनको गुनासो छ ।

“वृहत योजनाका साथ पार्क स्थापना भए पनि खर्च धान्न नसक्दा ओझेलमा परेको हो” वडाध्यक्ष राना भन्नुहुन्छ, “हामीले दैनिक चार पाँचसय मात्रै आम्दानी गरे पनि पार्क हेर्ने कर्मचारी र पालिएका जीवजन्तुको आहारा पु¥याउन सक्थ्यौं । केही समयसम्म लक्ष्यअनुसार आम्दानी भयो र पार्क चलाइयो पनि तर त्यसपछि आम्दानी ठप्पै भयो । पार्कभित्र भालु, अजिङ्गर, कछुवा, दुम्सी, बाँदर, गिनिपिकलगायत जनाबर पालिएका थिए ।” फागुन १ गते जनयुद्ध दिवस बनाउनका लागि जिल्लाको रिम्ना, पिपे , दल्ली र कम्यून भएको ठाउँ जुनिबस्ती जुर्क निपानेमा विधिध कार्यक्रम आयोजना गरिएको छ ।