बाग्मती

चार युग पुरुषका शालिक

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकको परिसरभित्र प्रजातान्त्रिक आन्दोलनका चार युगपुरुषका ढलोटको पूर्णकदको शालिक स्थापना गरिएको छ ।

परिसरभित्र प्रजातान्त्रिक तथा बाम आन्दोलनका नेतान स्व विशेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीले राष्ट्रिय पोशाक पहिरेको शालिक स्थापना गरिएको शहीद स्मारक विकास समितिले जनाएको छ ।

ती शालिकका लागि शहरी विकास विभागले रु ७२ लाख उपलब्ध गराएको उक्त समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले राससलाई बताए । उक्त स्मारकको परिसरमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कलाई थप व्यवस्थित बनाइ सञ्चालन गर्न उक्त समितिले पनि रु ७० लाख खर्च गरिसकेको र करीब ९० प्रतिशत निर्माण पूरा भइसकेको उनले जानकारी दिए ।

विगत २८ वर्षअघि तत्कालीन हेटौँडा नगरपालिकाकाका प्रमुख डोरमणि पौडेलको सक्रियतामा स्थानीय नवलपुरमा शहीद स्मारक निर्माण गरिएको थियो । उक्त समितिका अध्यक्षसमेत रहेएका हाल ३ नं प्रदेशका मुख्यमन्त्री पौडेलले केही हप्ताभित्रै युग पुरुषका शालिक अनावरण गर्ने तयारी भइरहेकोे जानकारी दिए ।