सुदूरपश्चिम

बजेट खर्च निरासाजनक

बैतडी । सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन् ।

जिल्लाका रणनीतिक सडक, सडक पुल र ठूलाठूला झोलुङ्गे पुल निर्माणको जिम्मा पाएको भौतिक पूर्वाधार विकास कार्यालयले अहिलेसम्म रु ५७ करोड ७७ लाख ५६ हजार पूँजीगत बजेटमध्ये रु ३१ लाख ५७ हजार मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए । यो कूल पूँजीगत बजेटको ०।५४ प्रतिशत मात्रै खर्च हो ।

यसैगरी प्रदेश सरकार मातहत स्थापना भएको शहरी विकास तथा भवन निर्माण कार्यालयको विकास बजेट खर्च भने अन्य कार्यालयको तुलनामा केही बढी भएको पाइएको छ । जनता आवास कार्यक्रम पनि सो कार्यालयले सञ्चालन गरिरहेकाले खर्च बढेको हो । कार्यालयको कूल रु छ करोड ४८ लाख पूँजीगत बजेटमध्ये छ महीनाको अवधिमा रु दुई करोड १८ लाख खर्च भएको छ ।

प्रदेश सरकार मातहत नै स्थापना भएको जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयको रु २६ करोड ९० लाख पूँजीगत बजेटमध्ये छ महीनाको अवधिमा रु ५२ लाख मात्रै खर्च भएको छ । यसरी हेर्दा यो कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा १।९३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको जोशीले बताए।

यसैगरी वृहत्तर जलाधार व्यवस्थापन कार्यालय महाकालीको कूल पूँजीगत बजेट रु १५ लाखमध्ये रु एक लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । वृहत्तर जलाधार व्यवस्थापन कार्यालयको कूल पूँजीगत बजेटमध्ये ६।६६ प्रतिशत मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षमा रु ९६ लाख ३५ हजार बजेट भएको डिभिजन वन कार्यालयले छ महीनाको अवधिमा रु ७४ हजार ४०० मात्रै खर्च गर्न सकेको छ ।

यस्तै सङ्घीय सरकार मातहत रहेको डिभिजन सडक कार्यालय पाटन, बैतडीको पनि विकास खर्च निराशाजनक रहेको पाइएको छ । कार्यालयको पूँजीगत बजेट रु ५० करोड २९ लाखमध्ये रु एक करोड २६ लाख मात्र खर्च भएको छ । समयमा बजेट निकासा नहुँदा खर्च नभएको जोशी बताए ।