आर्थिक

राडी बेच्न ओखलढुङ्गादेखि काठमाडौँसम्म

काठमाडौँ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौँ आए । चालीस राडी ल्याएर आउनु भएका गुरुङले पुरै बेच्न लागेका छन् । ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन् ।

वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउछन् । हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन् । उनी मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन् । राडी बेच्न भने उहाँ विभिन्न शहर नै धाउनुहुन्छ । “पन्ध्र/सोह्र वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न थालेको हुँ”, गुरुङले भने । गाउँका धेरै युवा विदेश पुगेपनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए । “बाबुबाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुसी लाग्छ”, उनले भने ।

गुरुङ राडी बेच्न काठमाडौँ, धरान, झापा, मोरङ, नेपालगञ्जलगायत शहरसम्म पुुग्नुहुन्छ । साथीभाइ र आफन्त भएका ठाउँमा उनीहरुकै कोठामा तथा नभएका ठाउँमा होटल र लजमा बस्छन् । उनी राडी बेच्ने क्रममा ५० जिल्ला पुगिसकेका छन् ।“वार्षिक रु १२ लाखसम्म कमाइ हुन्छ”, उनले भने । त्यही पैसाबाट उनले राडी बनाउन ऊन किन्छन् । राडी बेचेर आएको पैसाबाट नै होटलमा बस्ने र भाडा तिर्ने गरेको उनले बताए । गाउँमा बसेर अरु काम गर्नुभन्दा यसमा आम्दानी राम्रो भएको उनको अनुभव छ ।

युवापुस्ताले राडी खासै नरुचाएको गुरुङको अनुभव छ । बुढापाकाले मात्रै रुचाउने हुँदा अहिलेसम्म बजार पाए पनि भविष्यमा नपाउने हो कि भन्ने चिन्ता उनमा छ । “विदेशमा बनेका महङ्गा ओड्ने ओच्छाउनेभन्दा यसको फाइदा धेरै छ” उनले भने । राडी बनाउन भेडाको ऊन किन्न टाढाटाढासम्म पुग्नुपर्ने हुन्छ । केही वर्ष पहिलेसम्म उहाँको गाउँमै भेँडापालन गरिन्थ्यो । गाउँमै ऊन पाइने हुँदा सजिलो भए पनि अहिले ऊनका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ ।

सामुदायिक वनमा खुलारूपमा वस्तुभाउ चराउन नपाउँदा धेरैले पशुपालन छाडिसकेको गुरुङले बताए । भेँडाको ऊनलाई धोइपखाली गरी सुकाएपछि त्यसलाई कपासजस्तै गरेर फिट्नु पर्छ । त्यसपछि डोरीजस्तै बाट्ने र तान बनाएर राडी बनाउने गरिन्छ । एउटा परिवारका पाँच/छ जनासम्म खटिँदा १० देखि १२ दिनसम्ममा एउटा राडी बन्छ । युवापुस्ता विदेश जान थालेपछि राडी बनाउनेको सङ्ख्या घट्दै गएको गुरुङ बताउछन् ।