प्रदेश 1

अर्थतन्त्रको मुख्य आधार नै कृषिः मुख्यमन्त्री राई

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै आज उनले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

उनले कृषिलाई उद्योगका रुपमा विकाश गर्दै प्रदेशलाई भविष्यमा रासायानिक र विषादी मुक्त गर्दै अग्र्यानिक प्रदेशका रुपमा घोषणा गर्ने तयारीका साथ सरकार अघि बढेको जानकारी गराए । जैविक मल उद्योग प्रदेशकै गौरव भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेटबाट उद्योगले अनुदान प्राप्त गर्ने बताए ।

कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानुपर्ने आवश्यकता महसुस भइरहेको बेला जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार एक बिगाहा क्षेत्रफलमा करीब रु दुई करोडको लागतमा उद्योग स्थापना गरिएको हो । सो उद्योगमा मोरङसहित झापा र इलामका तीन वटा कृषक समूह तथा सात वटा कृषि सहकारीका सदस्य आबद्ध छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुनेछ ।