बाग्मती

मानसिक रोग विशेषज्ञ अपुग

ललितपुर । बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा तीन जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको अभाव भएको हो । मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भए पनि यहाँ जम्मा आठ जना मात्रै मानसिक रोग विशेषज्ञको दरबन्दी रहेको अस्पतालका प्रवक्ता (प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट) अनन्त अधिकारीले बताए ।

अस्पतालमा व्यवस्थापनको जिम्मेवारी पाउनुभएका निर्देशक (मानसिक रोग विशेषज्ञ) एक , प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट दुई र वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट छ जनाको दरबन्दी छ । अस्पतालमा बहिरङ्ग र अन्तरङ्ग विभाग दुवैतिर आउने बिरामी बढिरहे पनि त्यसको अनुपातमा मानसिक रोग विशेषज्ञको दरबन्दी नबढेको उनले बताए । उनले भने, “बहिरङ्ग विभागमा एक जना विशेषज्ञले ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।”

मानसिक स्वास्थ्यप्रति नागरिकमा सचेतना बढ्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालले बताएको छ । अस्पतालमा देशभरका धेरै स्वास्थ्य संस्थाबाट समेत बिरामी सिफारिस भएर आउने गरेको अधिकारीले बताए । अर्कातिर यहाँ ११ जना आवासीय चिकित्सक कार्यरत रहेको अस्पतालले बताएको छ ।

उनीहरुलाई सिकाउनुपर्ने समेत जिम्मेवारी पनि रहेको यहाँ कार्यरत एक मानसिक रोग विशेषज्ञले बताए । उनले भने, “एकातिर आवासीय चिकित्सकले हामीलाई केही सहयोग हुन्छ भने अर्कातिर हामीले उहाँहरुलाई सिकाउने जिम्मेवारी पनि हुन्छ ।” अस्पतालमा ३० श्यया सधैँ भरिने गरेको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी नियमित जाँचका लागि आउने गरेका छन् ।