उर्जा

परिसङ्घ र महासङ्घबीच समझदारी

काठमाडौँ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घबीच सहयोग र सहकार्यका लागि आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । परिसङ्घका तर्फबाट अध्यक्ष गुणराज ढकाल र महासङ्घका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरेको उक्त समझदारीपत्रअनुसार ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तारमा जोड दिइने उल्लेख छ ।

ग्रामीण तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट ग्रामीण क्षेत्रको अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि समेत साझेदार बन्न सक्ने बताइएको छ । नेपालभरिका गाउँपालिकामा नवीकरणीय ऊर्जाका प्रविधिहरुको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक ऊर्जाको पहुँच पु¥याई गरिबी निवारण गर्ने गतिविधिमा टेवा पु¥याउन दुई निकायबीचको संस्थागत सहकार्य गर्नका लागि मार्गप्र्रशस्त गर्नेछ ।

राष्ट्रिय प्रशारणको विद्युत् सुविधा पुग्न नसकेका ग्रामीण क्षेत्रका महासङ्घसँगको सहकार्यमा लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरुको विकास गरी विपन्न जनतामा आधुनिक ऊर्जाको भरपर्दो सेवा विस्तार गर्न सकिने परिसङ्घका अध्यक्ष ढकालले बताए ।

परिसङ्घले सङ्घीय, प्रादेशिक सरकारहरुलगायतका सम्बन्धित निकायमा नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकास सम्बन्धमा नीति निर्माण, कार्यक्रम र आयोजनाहरु तर्जुमा गर्दा र सामुदायिक संस्थाहरु, निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग साझेदारी गरी ऊर्जाको सुलभ र भरपर्दो उपलब्धताका साथै ऊर्जाको माध्यमबाट आयआर्जन गर्न गराउन वकालत गर्दै उपयुक्तरुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे ।