समाचार

ठूलो सिमसार बढैयाताल संरक्षणका अभावमा

बर्दिया । नेपालकै ठूलो पर्यटकीय सिमसार क्षेत्र बढैयातालले संरक्षण पाएको छैन । तालमा रहेका प्राकृतिक झार मार्नका लागि जिल्ला समन्वय समितिले ठेक्का लगाए पनि तालमा विषादि प्रयोग गर्नाले माछा, झार तथा चराहरु मरेका छन् ।  यहाँ चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय प्रजातिका चरा हिउँदमा फुल पार्न र बच्चा कोरल्न आउँछन् ।

यहाँ तीन महिना बस्ने चरामा साइबेरियाली सारस, मैना, जुरेली, धोबीन, राजलाहाँचे, क्राउन, चखेवा, क¥याङकुरुङलगायत चरा र तीन सय जातका माछामा रोही, प्रह्नी, नैनी, सिलभर, कमनकार्पलगायत छन् । तिनलाई हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यहाँ कमलको फूल सेतै फुलेको हुन्छ । एक सय सात बिघाको ताल चुरे पहाडको डाँँडाबाट हेर्दा सेतो थालजस्तै टलक्क टल्किएको देखिन्छ ।

“नेपालकै ठूलो सिमसार क्षेत्र बढैयातालमा कहिले पनि पानी सुक्दैन” स्थानीयवासी लल्लु थारुले भने।  सो ताल सरकारले संरक्षण गर्नुपर्नेमा नगरेकाले मानवको अतिक्रमण बढेको छ । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन नेपालबाट सहयोग भएवापत बेलायत सरकारले नेपाललाई दिएको नयाँ मुलुक(बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मध्ये बर्दियामा पर्ने यो ताल नजीकै सोसम्बन्धी कागजात तयार गरिएको बताइन्छ । चार जिल्ला पाउनुु राम्रो (बरिया) काम भएकाले बढैया भनिएको
बताइन्छ ।