अन्तर्राष्ट्रिय

उत्तर कोरिया–अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी

सियोल । दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ । दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

रियलमिटर संस्थाले गरेको उक्त सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले उत्तर कोरियाको आणविक समस्या सुल्झने कुरामा विश्वास नरहेको बताएका छन् । उनीहरुले यो वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्धलाई अझ कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी प्रशारण संस्था सिबीएसका निम्ति गरिएको उक्त सर्वेक्षणमा दक्षिण कोरियाका ५०१ जना वयस्क व्यक्तिलाई प्रश्न सोधिएको थियो । रियलमिटरले सर्वेक्षणलाई जतिसक्दो भरपर्दो बनाउने प्रयास गरिएको जनाएको छ । दक्षिणपन्थी लिबर्टी कोरिया पार्टीका समर्थकहरुले भने वार्ताबाट खासै प्रगति नहुने बताएका छन् ।