गण्डकी प्रदेश

प्रदेशसभा सदस्य गुरुङद्वारा अक्षयकोष स्थापना

कास्की । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले गरीब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि पोखरा महानगरपालिका–९ स्थित पोखरा बहुमुखी क्याम्पसमा रु दुई लाखको अक्षयकोष स्थापना गरे ।

उनी सोही क्याम्पसको स्तातक तहको विद्यार्थीसमेत छन् । अक्षयकोषको प्राप्त रकमबाट वर्षेनी गरीब तथा पढाइमा मेहनती र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने क्याम्पसले जनाएको छ ।

आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने भन्दै सदस्य गुरुङले समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने बताए । सदस्य गुरुङले संसद्बाट प्राप्त सुविधा तथा भत्ता पनि विद्यार्थी, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, असहाय महिलालगायतको सहयोगमा खर्चिदै आएको बताए ।

हङकङ व्यूटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एवं व्यूटी कलेजका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएकी गुरुङ जिफन्ट केन्द्रीय उपाध्यक्षसमेत छन् । क्याम्पस प्रमुख शिशुकला पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै प्रदेशसभा सदस्य गुरुङको सफलताको कामना गरे ।