समाचार

भानुभक्त, लेखनाथ, माधव घिमिरे जन्माएको तनहुँलाई साहित्य पर्यटनको रुपमा विकास गर्नुपर्छः नेता पौडेल

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई साहित्य पर्यटनका रुपमा विकास गरिने बताएका छन्। तनहुँको चुँदीमा जन्मनुभएका स्व लक्ष्मी पन्तको दोस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘स्व लक्ष्मी पन्त स्मृति ग्रन्थ विमोचन’ कार्यक्रममा उनले भानुभक्तको जन्मथलो चुँदीलाई साहित्य पर्यटनको रुपमा विकास गरिने बताए । “भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरेलगायतका साहित्यकार जन्माएको थलो गण्डकी र तनहुँलाई साहित्य पर्यटनका रुपमा विकास गर्ने मैले लक्ष्य राखेको छु”, उनले भने ।

नेता पौडेलले सांस्कृतिक, पर्यटकीय, धार्मिक, ऐतिहासिक महत्व बोकेको गण्डकी प्रदेशको विकासका लागि सबै लाग्नुपर्ने बताए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको छोटो समयमा नै लक्ष्मी पन्तले धेरै काम गरेको बताए । नेता पौडेलले राजनीतिमा महिला सहभागिता न्यून भएको बेला पन्त एक उदाहरणका रुपमा काङ्ग्रेसको सङ्गठन विस्तारमा लागेको बताए ।

काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले राजाले चलाएको प्रतिगमनको आन्दोलनमा स्व पन्तको महत्वपूर्ण भूमिका रहेको बताए । “राजाको प्रतक्ष्य शासनकालमा विद्रोह गर्न सक्ने असल नारी पन्त हुनुहुन्थ्यो”, उनले भने । काङ्ग्रेस नेता रामचन्द्र पोखरेलले राजनीतिप्रति चासो, समाजसेवाप्रति रुचि र अध्यात्मप्रति आस्था राख्ने व्यक्ति स्व पन्त भएको बताए । “राजनीतिमा आध्यात्म हुनुपर्छ भन्ने भावना स्व लक्ष्मी पन्तमा थियो”, उनले भने।

पुस्तकका सम्पादक गौरी ढकालले पुस्तकले पन्तको समग्र जीवनलाई समेटेको बताउँदै लक्ष्मीको योगदान बुझ्न पुस्तक उपयोगी हुने बताए । काङ्ग्रेस गोरखाका उपसभापति सुकदेव दवाडीले गोरखाको प्रजातान्त्रिक आन्दोलनमा स्व पन्तको महत्वपूर्ण योगदान भएको बताए । वरिष्ठ राजयोग प्रशिक्षक कुसुम श्रेष्ठ र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेलका प्रमुख रामसिंह ऐरले सामाजिक सुधार र आध्यात्मिक चेतनाको क्षेत्रमा स्व पन्तले काम गरेको बताए ।

पन्तले सामाजिक र नेपाली राजनीति जीवनमा गर्नुभएको सङ्घर्षलाई आम जनमान समक्ष लैजान पुस्तक प्रकाशन गरिएको स्व पन्तका श्रीमान भोजराज पन्तले जानकारी दिए । स्व पन्त महिला सङ्घ गोरखाको नेत्री तथा काङ्ग्रेस महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । विसं २०१४ भदौमा तनहुँको भानु नगरपालिकामा जन्मनुभएकी पन्तको विसं २०७३ माघ १९ श्रीपञ्चमीको दिनमा क्यान्सर रोगको कारण निधन भएको थियो ।