बाग्मती

पानीले इँटा नष्ट

धादिङ । लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताए ।

बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जनाएका छन् । काँच्चो इँटाको बीमासमेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको हो । जिल्लामा रहेका प्रत्येक इँटा उद्योगमा १० देखि १५ लाखसम्म पकाउन तयारी गरिएका इँटा लगातारको पानीले नष्ट भएको इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिइँटाको लागत रु सातसम्म पर्ने गरेको छ । जिल्लाभर ३७ उद्योगका करीब चार करोड काँचो इँटा रहेका र रु ३० करोड मूल्यबराबरको नोक्सानी भएको सङ्घले जनाएको छ । विसं २०६७ देखि जिल्लामा इँटा उद्योग सञ्चालनमा आएकामा सबैभन्दा बढी इँटा उद्योग धुनीबेँसी नगरपालिकामा २७ उद्योग सञ्चालनमा रहेका छन् । यसैगरी केही दिनअघि कञ्चनपुरमा भएको वर्षात्का कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् । दुई दिन भएको वर्षाले जिल्लाभर रु करोड बराबरका इँटा नोक्सान भएको इँटा तथा टायल उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अनुसार वर्षात्ले चट्टा लगाइएका र पोल्नका लागि तयारीमा रहेका काँचो इँटा गलेर नष्ट भएका हुन् । ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा १० लाख इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी सङ्घका कोषाध्यक्ष दानबहादुर रावलले बताए । कञ्चनपुरमा साना तथा ठूला इँटा उद्योग गरी ४० इँटा उद्योग सञ्चालनमा छन् ।