प्रदेश 2

हलो गोरु पूजा

गौशाला । श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लाका किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा जिल्लाका किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात भएको मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएकाले महोत्तरीका हजारौँ किसानले हलो गोरु पूजा गरेका छन् ।

किसानले आ–आफ्ना आँगनमा हलो राखेर पूजाआजा गर्नुका साथै घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गर्दछन् । किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोतेका छन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुका रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने गर्छन् । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन् प्रयोगमा ल्याउने गर्छन् ।

श्रीपञ्चमीको अवसरमा अरवा चामलमा सख्खर मिलाएर एक किसिमको प्रसाद तयार पार्छन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्ने प्रचलन छ । आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्ने गरिन्छ भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ हुन्छ ।

हलो गोरु पूजाको अवसरमा गाउँमा सयौँ गोरु एकैसाथ कुँदिरहेको तथा किसानको काँधमा हलो लहरै रुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद हुन्छ । हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाका १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहका सयौँ गाउँमा धुमधामका साथ मनाइएको छ ।