गण्डकी प्रदेश

समाजसेवाका नमूना चन्द्र र सुरज

म्याग्दी । मानिस धर्मका लागि मन्दिरमा धाउँछन्, दान गर्छन् र आत्मसन्तुटि लिने गर्छन् । आफ्नै शरीरको अङ्ग दिएर अरुको जीवन बचाउने र रक्तदान गर्ने झनै पुण्यका काम हुन् । आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने थोरै मानिसहरुमध्येमा पर्छन् म्याग्दीका चन्द्र र सुरज केसी । उनीहरु दाजुभाइ हुन् ।

एउटै घरका साख्खै दुई भाइ ४४ वर्षीय चन्द्र र ४२ वर्षीय केसीले आफ्नै शरीरको अङ्ग र रगत दिएर समाज सेवाको उदाहरण प्रस्तुत गरेका छन् । विभिन्न परोपकारी सङ्घसंस्थामा आवद्ध चन्द्रले केही दिन अघि नौ वर्र्षीया बालिकालाई आफ्नो कलेजो दान दिएर बचाएका छन् । उनकै भाइ सुरजले ५३ औँ पटकसम्म रक्तदान गरेर सुत्केरी महिला र कैयौं घाइतेको जीवन रक्षा गरेका छन् ।

जन्मेको चार महिनादेखि थलिएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलकी सियाना रन्तिजाको बेनी, पोखरा हुँदै काठमाडौँ पु¥याउँदा पनि रोग पत्ता नलागे पछि भारतको राजधानी नयाँ दिल्ली लगियो । त्यहाँ पुगेपछि पत्ता लाग्यो, रन्तिजाको कलेजोमा समस्या रहेछ । छोरीलाई उपचार गरेर निको पार्न सियानाकी आमा रेश्मा रन्तिजा र बुबा प्रदीप रन्तिजाले निकै दौडधूप गरे । कैयौंलाई गुहारे । देवीदेउता पुकार्नु भयो, तर केही शीप लागेन ।

औषधिले निको नभएपछि सियानाको उपचारमा खटिएका सर गंगाराम अस्पतालका चिकित्सकद्वय डा निमेष र डा विशालले ‘छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुप¥यो’ भने । मिल्ने भए आफ्नो मुटु पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजो मेल खाएन । सियानाको उपचारका लागि अर्थाभाव हुनाका साथै कलेजोदाता पनि चाहिएको खबर म्याग्दीमा फैलियो ।

आखिर चन्द्र केसी सियानाका लागि बाबुआमाजस्तै प्यारो बनेर झुल्किए । ती बालिकालाई कलेजोको टुक्रा काटेर दिन केसी राजी भए। म्याग्दीमा असहाय र विपन्नलाई सहयोग पु¥याउँदै आएका ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले पहिला पहिला पैसा दिएर सहयोग गर्थे । अरुसँग मागेर सहयोग जुटाएका थिए । कहिले मिर्गौला रोगीको उपचार हुन्थ्यो त कहिले मुटु रोगीको । कहिले कलिला हातहरुमा कापी कलम थमाउनुहुन्थ्यो भने कहिले थरथर कापिरहेको जीउमा न्यानो लुगा । यसपालि चाहीँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएर बचाए । केसीलाई अहिले ‘म्याग्दीका दधीचि’ (अरुका लागि आफ्नो शरीरको अङ्ग काटेर दिनसक्ने दानी व्यक्ति) भन्न थालिएको छ ।

भारतको सर गंगाराम अस्पतालमा रन्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरेपछि रन्तिजाको जीवन रक्षा भएको शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए । शाक्यले भने – “कोषका संस्थापक अध्यक्ष केसीले मानवीय सेवा र दानवीरहरुको पङ्क्तिमा साहसको एउटा अभिलेख राखेका छन् ।” केसीको करीब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको हो । अहिले बिरामी सायना र दानवीर केसी दुवै अस्पतालमा स्वास्थ्य लाभ गर्दै छन् । सायनाको जीवन रक्षाका लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा ३० लाख रुपैयाँ सङ्कलन गरिएको थियो । कलेजो प्रत्यारोपणअघि उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले प्रत्यारोपणका लागि मात्रै १७ लाख भारुभन्दा बढी आवश्यक भएको देखिएकाले थप सहयोगका लागि कोषले आह्वान गरेको छ ।

त्यसैगरी चन्द्रका भाइ सुरजले पनि ५३ औँ पटक रक्तदान गरेर कैयौंको जीवन बचाएका छन्। विसं २०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउनुहुने सुरजले अहिलेसम्म ५३ औँ पटक रक्तदान गरेका छन् । केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने अवस्थाका, गाडी दुर्घटना भएका लगायत दर्जनौं व्यक्तिलाई आफ्नो रगत दिएर बचाएका छन् ।

सामान्यतया रक्तदान गरेको तीन महिना पछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकहरुको परामर्श रहने गर्छ तर, अरुको दुःख देख्नै नसक्ने सुरजले आवश्यक परेको खण्डमा जतिबेला पनि आफ्नो रगत दिने गरेका छन् । केसीको रगत ए प्लस समूहको हो ।
केसी दाजुभाइलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उहाँहरुलाई नजीकबाट चिन्नेहरु बताउने गर्छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् म्याग्दीका युवा समाजसेवी प्रकाश पौडेलले केसी दाजुभाइलाई अरुको दुःख देख्दै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रुपमा चिन्ने गरेको बताए । सुरज पत्रकार महासङ्घ म्याग्दीको पूर्व अध्यक्ष समेत छन् । यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालक समेत रहनुभएका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीसँग समेत सम्बद्ध छन् ।